बिगत १२ बर्ष देखि नेपाली फिल्म उधोगमा सक्रिय रहेकी नायिका रेखा थापाले जेठ महिनामा नयाँ फिल्म 'काली'को निर्माण गर्ने भएकी छिन् । यसअघि आफैले निर्देशन गर्ने बताईएको यो फिल्मलाई अब हिमग्याप टाँसीले निर्देशन गर्नेछन् ।
बिहिबार फिल्मीखबरसँगको भेटमा रेखाले आफू अझै निर्देशन बन्न सक्षम नभएको बताईन् । 'निर्देशकको धर्यता मभित्र अझै बृद्धि भईसकेको छैन त्यसैले निर्देशनबाट केहि समयका लागि पछाडी सरें ।' यस्तै उनले टाँसीले आफ्नो भन्दा राम्रो कन्सेप्ट प्रस्तुत गरेकाले पनि निर्देशनको जिम्मा उनलाई नै दिएको रेखाको भनाई छ । फिल्मको निर्देशन नगरे पनि निर्माण भने रेखा आफैले गर्दैछिन् ।
हाल स्क्रिप्टको काम भईरहेको बताउँदै रेखाले आफू सहित यश कुमार मुख्य भुमिकामा रहने बताईन् । जेठको दोस्रो साता भित्रमा सुटिङ शुरू गर्ने तयारी भएको रेखाको भनाई छ । यस्तै उनले फिल्मको सुटिङ काठमाण्डौ, पोखरा र रारा ताल आसपासमा गर्ने जानकारी गराईन् । रियल कथालाई केहि फिक्सन बनाएर निर्माण गर्न लागिएको यो फिल्मको बजेट ५० लाखको हाराहारीमा हुने उनको भनाई छ ।
निर्देशकले नै क्यामेरा चलाउन सम्भावना देखाएकी रेखाले यश कुमारले संगीतको काम समेत गरेको बताईन् । फिल्ममा दुई वटा गीत समावेश गरिने भएको छ । बाँकी कलाकार र अन्य प्राबिधिकको छनोट भईरहेको उनले बताईन् । आफू अभिनित फिल्म 'हमेशा' रिलिजको क्रममा रहेकाले केहि व्यस्त भएको बताउँदै नयाँ बर्षको शुरूवातमा कालीको सबै काम सकिने उनले जानकारी दिईन् । यसअघि छबिराज ओझासँग सहकार्य गर्दै आएकी रेखाले काली फिल्ममा छबिलाई समावेश गर्ने या नगर्ने भन्ने बिषयमा तत्काल केहि प्रतिक्रिया दिएकी छैनन् ।

