मोफसलका दर्शकसंग फिल्ममैत्री बाताबरण निर्माणका लागि यस पटकको राष्ट्रिय चलचित्र महोत्सव पूर्वाञ्चलको धरानमा गर्ने तयारी गरिएको छ । चलचित्र बिकास बोर्डको आयोजनामा हुन थालेको मोफसल केन्द्रित यो महोत्सव गत बर्षको भन्दा उत्कृष्ट हुने बिकास बोर्डका सदस्य एवं कार्यक्रम संयोजक नीलहरी काफ्लेले दाबी गरेका छन् ।
गत बर्षको महोत्सव सुर्खेतमा भएको थियो जुन महोत्सवको बिषयमा केही विवाद पनि भएको थियो । 'यस पटक केही भिन्न र सभ्य शैलीमा हामी कार्यक्रम तय गर्देछौ तसर्थ सम्भवत यो पटकको महोत्सव विवाद रहित हुने हाम्रो अपेक्षा छ,' काफ्लेको भनाई छ । यस्तै काफ्ललेले महोत्सवको सेड्यूलमा फिल्म प्रदर्शनसंगै छायांकन स्थलको खोजी कार्यलाई पनि अटाएको बताएका छन् ।
बैशाख तेस्रो साता हुने महोत्सवका लागि काठमाण्डूबाट फिल्मकर्मीहरु जादैछन् जहाँ उच्चकोटीका फिल्महरु प्रदर्शन गरिनेछ । तीन दिन सम्म धरानमा हुने महोत्सवको डिटेल केही दिन पश्चात बोर्डले सार्वजनिक गर्दैछ यध्यपी करिब ४० किलोमिटर दक्षिण तर्फको औधोगिक शहर विराटनगरमा एक गोष्ठी गरी महोत्सव समापन गर्ने कार्यक्रम रहेको काफ्लेको भनाई छ ।
नेश्नल अवार्ड पनि असार भित्रै हुने
चार बर्षयता हुन नसकेको नेश्नल अवार्ड पनि आउदो बर्षको असार भित्रमा गरिसक्ने बोर्डले जनाएको छ । सदस्य नीलहरी काफ्लेका अनुसार राष्ट्रप्रमुखको हातबाट दिईने यो अवार्डका लागि जुरी छनौट कार्य करिब अन्तिम चरणमा पुगेको छ ।
राशि सहितको अवार्ड वितरण समारोह बार्षिक रुपमा हुन नसकेकोमा चलचित्र बिकास बोर्ड सञ्चालक समिति दोषी रहेको काफ्लेको आरोप छ । यध्यपी यस पटक सवै प्रक्रिया मिलाएर फिल्मकर्मीहरुलाई हौसला प्रदान गर्ने गरी अवार्ड पनि सम्पन्न गर्ने तयारी भईरहेको उनले जानकारी दिएका छन् ।

