विगत लामो समयदेखि फिल्म क्षेत्रमा उल्लेख्य योगदान पुर्यावापत अभिनेताद्धय सुनिल थापा र दिनेश डिसीलाई हरितारा चलचित्र पुरस्कारले सम्मान गरिएको छ ।
शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यि दुई फिल्मकर्मीलाई नगद रू २५ हजार सहित ताम्रपत्रद्धारा हरितारा चलचित्र पुरस्कार गुठीले सम्मान गरेको हो । २०५२ सालदेखि निजी क्षेत्रबाट सुरु गरिएको यो हरितारा पुरस्कार हरेक बर्ष फिल्म क्षेत्रमा योगदान पुर्याएका फिल्मकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने गरिएको छ ।
यस्तै कार्यक्रममा परिवर्तन नेपालले फिल्म क्षेत्रमा योगदान दिएको भन्दै निर्माता छवी ओझा, फिल्म पत्रकार शान्तिप्रिय, अभिनेत्री सपना श्रेष्ठ, कलाकार बिनोद श्रेष्ठ र निर्माता तथा अभिनेत्री जेनी कुँवरलाई ताम्रपत्रले सम्मान गर्यो । पुरस्कृत तथा सम्मानित व्यक्तिहरूलाई शिव श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुषाल, सुभद्रा अधिकारी, चैत्तन्य देवी लगायतले पुरस्कार हस्तान्तरण गर्नुका साथै सम्मान अर्पण गरेका थिए । कार्यक्रममा परिवर्तन नेपालका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।

