राजधानीको गोपीकृष्ण मुभिजमा फिल्म हेर्न आएका दर्शकले नोटबुक फिल्मका निर्देशक योगेश घिमिरेलाई शनिबार मध्यान्न आक्रमण गरे । दर्शकसामु फिल्मको अडियो सिडी विमोचन गर्न खोज्दा दर्शकले उक्त सिडी पाउनका लागि निर्देशक आक्रमणमा परेका हुन् । योगेशले झोलाबाट सिडी निकाल्न नपाउदै दर्शकले उनलाई झम्टेका थिए । दर्शकको उक्त आक्रमण भौतिक रूपमा नभई सिडी पाउनका लागि थियो ।
फिल्मको गाला रातै र मायाको भुलभुलैया बोलको गीत अहिले निकै चर्चामा छ । उक्त गीत चर्चामा भएकाले पनि दर्शकहरूलाई नोटबुकको सिडीले ध्यानाकर्षण गरेको हो । 'दर्शकहरू मार्फत नै सिडी विमोचन गरें ,' निर्देशक घिमिरेले भने- 'सिडी विमोचन गर्न भन्दा पनि सिडी लिनका लागि दर्शकहरूले ठेलमठेल गर्दा फिल्म प्रति दर्शकको चासो धेरै रहेको बुझ्ने मौका पाएँ ।' फिल्म प्रति दर्शकको रूचि कस्तो छ भन्ने कुरा बुझ्नका लागि पनि दर्शकलाई नै सिडी विमोचन गर्न लगाएको योगेशको भनाई थियो ।
हलमा चलिरहेको एक नेपाली फिल्म हेरेर निस्केका दर्शकहरू पनि नोटबुकको सिडी विमोचन गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । अधिकांश दर्शकले नोटबुक हेर्न आतुर रहेको समेत प्रतिक्रिया दिए । प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्म यहि चैत्र ३० गते रिलिज हुँदैछ । फिल्ममा जीवन लुईटेल, नीता ढुंगाना र शेन सापकोटाको मुख्य भुमिका रहेको छ ।


