Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.50/5.00)
Text size:-
+
-

`शुरूमा क्यामरा छुन डर लाग्थ्यो` : शिवराम श्रेष्ठ (छायाँकार)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/31

फिल्म क्षेत्रमा काम गरेको अनुभव लामो रहेपनि क्यामेराम्यान नै भएर काम गरेको अनुभव खासै छैन शिवराम श्रेष्ठसँग । भिसा गर्ल फिल्ममा पहिलो पटक ठूलो पर्दाको क्यामेराम्यान भएका शिवरामको दोस्रो फिल्म 'अन्तराल' रिलिजको क्रममा छ । दुई फिल्म खिच्दा नखिच्दै उनलाई फिल्मकर्मीले महंगो क्यामेरा म्यानको रूपमा हेरेका छन् ।

 

तिर्थ थापाले निर्देशन गरेको 'सडक' नामक फिल्ममा छायाँकार चन्द्र प्रकाश घिमिरेको लाईट व्याय भएर फिल्म यात्रा तय गरेका शिवरामले ८ बर्षसम्म झन्डै ४ दर्जन फिल्ममा लाईट व्याय र असिस्टेन्ट क्यामेराम्यान भएर काम गरे । शिब ढकाल, किशोर ढकाल जस्ता क्यामेराम्यानसँग काम गरेका उनले हेरेरै क्यामेराको बारेमा सिकेको बताए । 'हामीलाई त क्यामेरा छुन पनि दिईन्थेन र छुन पनि डर लाग्थ्यो,' शिवरामले भने- 'मेरो भान्जाले एउटा सिलियल बनाएपछि धिरजजंग शाहसँग असिस्टेन्ट भएर काम गर्दा मात्र क्यामेरालाई राम्रोसँग छुन र चलाउन पाएको थिएँ ।'

 

काभ्रेबाट एसएलसी दिएर काठमाण्डौ छिरेका शिवरामले २०५९ सालमा कान्तिपुर टेलिभिजनमा काम पाएपछि क्यामेराको बारेमा अझ राम्रोसँग बुझ्ने मौका पाएको बताए । उनले भने- 'प्रेरणा नामक सिरियलमा असिस्टेन्ट क्यामेरा म्यान भएर काम गरेको थिएँ त्यहिबेला भुषण दाहालले मेरो कामबाट प्रभावित भएर कान्तिपुरमा जुनियर क्यामेरा म्यानको पद दिनुभयो ।' अहिले उनी कान्तिपुर टेलिभिजनमा क्यामेरा म्यानको रूपमा कार्यरत छन् ।

 

 

३०० भन्दा बढि म्युजिक भिडियो र ४ दर्जन भन्दा बढि विज्ञापन खिचिसकेका शिवराम फिल्म खिच्न भने खासै रूची राख्दैनन् । 'एक त अफिसबाट लामो छुट्टि लिन गार्‍हो हुन्छ भने अर्को तर्फ ४५/५० दिनसम्म लगातार काम गर्न अलि गार्‍हो पनि लाग्छ,' उनले भने- 'आफ्नो डिमान्ड अनुरूपको पैसा नपाउँदा पनि फिल्म तर्फको रूची घटेको हो ।' तरपनि उनले प्रचण्ड मान श्रेष्ठ र सिजी इन्टरटेन्मेन्टको फिल्ममा काम गर्न सक्ने सम्भावना रहेको बताए ।

 

पहिले खासै पैसा नपाएका शिवराम अहिले एउटा फिल्मबाट कम्तिमा दुई लाख रूपैंया लिने गरेको बताए । 'मेरो बजेटमा राम्रो टिमले प्रस्ताव राख्यो भने काम नगर्ने पनि हैन,' उनले भने । अहिलेका चर्चित क्यामेराम्यान पुरूषोत्तम प्रधान र संजय लामासँगै संघर्ष गरेको उनले बताए । निकै संघर्ष गरेर आएको बताउने शिवराम अहिले यो पेशाबाट सन्तुष्ट रहेको बताउँछन् ।