गत वर्ष अन्दाज र रावण फिल्मबाट राम्रो प्रतिक्रिया पाएका नायक सबिन श्रेष्ठलाई यस बर्ष रिलिज भएका दुई फिल्म बर्षात र फुलस्टपले भने केहि असर पार्यो । यि दुई फिल्मले राम्रो स्थान दिन नसकेपनि सबिनले चैत्र ३० गते रिलिज हुन लागेको फिल्म 'हमेशा'बाट राम्रो प्रतिक्रिया पाउने आश व्यक्त गरेका छन् ।
फिल्म फ्लप भएपछि त्यसको प्रत्यक्ष असर कलाकारलाई पनि पर्छ । आफ्नो करियरलाई असर नगरोस् भनेर सबिन अहिले हमेशा बाहेक अरू केहि नसोचेको बताउँछन् । राम्रो फिल्म बनेको भन्दै यसको प्रचारप्रसारमा दौडनु परेकाले प्रेमिकालाई समेत छोड्नु परेको उनको भनाई छ । 'केहि दिन देखि प्रेमिकालाई समय दिन सकेको छैन । अझ केहि दिन समय दिन सकिन भने त उनले नै छोड्ने हुन् कि,' सबिनले ठट्याउली पारामा भने ।
यस्तै उनले चैत्रमा सुटिङ शुरू हुने भनिएको एक फिल्म पनि हमेशाकै कारण छोड्नु परेको बताए । 'यो फिल्म मेरो करियरसँग जोडिएको छ त्यसैले अहिले यो बाहेक म अरू केहि सोचेको छैन,' सबिनले भने । उनले आफ्नो दुबई भ्रमणलाई पनि बैशाखको दोस्रो सातामा सरेको बताए । प्रोमो र गीतलाई सबैले मन पराईदिएको बताउँदै सबिनले फिल्मलाई पनि रूचाउने दाबी गरे ।
हमेशाबाट आफू एक्सन नायकको रूपमा पनि स्थापित हुने उनको दाबी छ । 'हुनत यो फिल्ममा एक्सन, रोमान्स, सस्पेन्स सबै छ तर पनि मलाई दर्शकले एक्सन नायकको रूपमा चिन्नु हुन्छ जस्तो लाग्छ,' सबिनले भने । हमेशा पछि आधि बाटो फिल्मको पर्खाईमा रहेका सबिन फिल्म क्षेत्रमा एक्सन नायक भएर नै चिनिन चाहन्छन् । 'हुनत कलाकार भएपछि सबै बिधामा पोख्त भएर चिनिनु पर्छ तर पनि एक्सनमा मेरो बढि झुकाव भएकाले दर्शकले पनि यसमै मार्क गर्नुहुन्छ जस्तो लाग्छ,' उनले बताए ।
छबिराज ओझाको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गरेको हमेशामा सबिन रेखा थापासँग देखिने छन् । यस्तै यो फिल्ममा डेब्यू गर्दै नरेन खड्का पनि देखिनेछन् । सबिन छबि ओझाकै फिल्म 'अन्दाज'बाट यो क्षेत्रमा नायक भएर आएका हुन् ।

