हुनत गोर्खाली साहसी हुन्छन् भन्ने कुराको उदाहरण यसअघि नै संसारमा नै पुष्टी भईसकेको छ । यसलाई निरन्तरता दिन नेपाली कलाकारहरू पनि अगाडी सर्न थालेका छन् । चाहे रिल मा होस् या चाहे रियलमा नेपाली कलाकारहरू साहसिक काममा अगाडी बढ्न थाल्दा समग्र उधोगले पक्कै शिर ठाडो गर्नेछ ।
केहि दिन अगाडी मात्र नायक अर्जुन कार्कीले सगरमाथा आरोहण गर्ने साहस देखाए र उनी अहिले त्यसकै यात्रामा छन् । हिजो बिहिबार अर्की नायिका निशा अधिकारीले पनि सगरमाथा आरोहण गर्ने साहस देखाईन् । यि दुई कलाकारले सगरमाथाको शिखर चुम्न सकेको खण्डमा यस बिषयले संसारलाई एक पटक गरम पक्कै बनाउने छ । यस्तै साहसिक काम गर्न रूचाउने अर्की नायिका ममता प्रधान पनि हुन् ।
हुनत पछिल्लो समयमा बन्जिजम्प सामान्य नै भईसकेको छ तर पनि एउटी महिलाको लागि बन्जिजम्प गर्नु त्यति सहज हैन । यसअघि नायिका रेखा थापाले बन्जिजम्प गरेर आफ्नो साहस देखाएकी थिईन् भने अहिले ममताले त्यो साहस देखाएकी छिन् । उनले गत मार्च २३ तारिखका दिन पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसी नदीमा पुगेर आफूलाई साहसिक महिला कलाकारको रूपमा परिचित गराईन् ।

'शुरूमा त निकै डर लागेको थियो,' ममताले अनुभव सुनाउँदै भनिन्- 'डरको अगाडी नै जीत हुन्छ भन्ने सोचेर नै हाम फालें र मैले जीत हाँसिल पनि गरें ।' केटी मान्छे भएपछि मुटु कमजोर हुनु स्वाभाविक हो तर कमजोर मुटुलाई बलियो बनाउन यस्तो साहसिक काम गर्नुपर्ने ममताको धारणा छ । 'जम्प गरिसकेपछि हुने मज्जाको वयान म गर्न पनि सक्दिन,' ममताले भनिन् । यस्तो रिस्की काम पहिलो पटक गरेको उनको भनाई छ ।
'फिल्ममा नै यस किसिमको काम गर्न मन थियो तर अहिलेसम्म पाएकी छैन,' ममताले भनिन्, 'अब मलाई स्काई डाईभ गर्न मन छ ।' नेपालमा यो खासै सम्भव नभएको भन्दै ममताले बाहिर देश गएर पनि आफ्नो यो इच्छा पूरा गरेर छाड्ने बताईन् । 'खासमा मलाई हिन्दी फिल्म जीन्दगी नामिलेगी दोबारा हेरेर यस किसिमको काम गर्ने आँट आएको हो,' उनले सुनाईन् ।

होलीको दिन र्याफ्टिङ गरेकी ममताले आउँदो नयाँ बर्षमा प्याराग्लाईडिङ गर्ने योजना बनाएको बताईन् । सगरमाथा चढ्ने रहर त छैनन् नि भन्ने जिज्ञासामा उनले भनिन्- 'अहिलेसम्म योजना बनाएकी छैन । कुनै दिन योजना बन्यो भने पक्कै त्यो पनि असम्भव हुँदैन ।'
केहि दिन अगाडी बलिउडका चर्चित गायक आतिफ अस्लमलाई भेट्न हेलिकप्टर चार्टर गरेर नगरकोट पुग्दा नै ममतालाई हेर्ने नगर फरक बनिसकेको थियो । 'कहिलेकाहिं मन बच्चा हुन्छ र बच्चाको मन जिद्दी हुन्छ । आतिफलाई भेट्ने कुरामा मेरो मन बच्चा भयो', ममताले सुनाईन्- 'अब म शाहिद कपूरलाई भेट्न खोज्दै छु । म उसको ठूलो फ्यान हो त्यसैले एक दिन जसरी पनि उसलाई भेट्छु।'

