रहर या लहर जे भए पनि नायिका निशा अधिकारीले सगरमाथाको चुचुरो चुम्ने तयारी गरेकी छिन् । यहि चैत्र २४ गतेबाट सगरमाथाको यात्रा शुरू गर्ने निशाले बिहिबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताईन् ।
नायक अर्जुन कार्की सगरमाथा चढ्न हिडेको दश दिन पश्चात नायिका अधिकारीले पनि सगरमाथा चढ्ने साहस देखाएकी हुन् । केहि समय अगाडी हिमाल चड्ने तालिम लिएकी निशाको यो कदमलाई कलाकार संघ र फिल्मकर्मीहरूले स्वागत गरेका छन् । यस्तै उनलाई शुभकामना दिन बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अभिनेत्री बसुन्धरा भुषाल, करिष्मा मानन्धर, सुभद्रा अधिकारी, नवल खड्का, रमेश बुढाथोकी, दिनेश डिसी, राजेश पायल राई लगायतका थुप्रै फिल्मकर्मी उपस्थित थिए ।
नायिका निशाले कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'लाई निमन्त्रणा गर्दा पनि वेवास्ता गर्दै नआएकोमा दु:ख व्यक्त गरिन् । उनले भनिन्- 'कलाकारले गरेको यो साहसिक काममा बोर्डले सहयोग गर्नुपर्ने हो तर अध्यक्षले नै वेवास्ता गर्दिंदा अलि चित्त दुखेको छ ।' यस्तै उनले नेपाली फिल्म क्षेत्रको गरिमालाई उच्च बनाउन सगरमाथा चढ्ने साहस देखाएको बताउँदै नेपाली फिल्म क्षेत्रको आफ्नै परिचय नभएकाले सबै संघसंस्थाले पहल गरेर एउटा परिचय दिनुपर्ने धारणा राखिन् ।
अभिनेत्री बसुन्धरा भुषालले महिला भएर पनि यस्तो साहस देखाएकोमा खुसी व्यक्त गर्दै निशाको पहलमा सबै फिल्मकर्मीले साथ दिनुपर्ने बताईन् । यस्तै कलाकार संघका अध्यक्ष नवल खड्काले निशालाई संस्था र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
नायिका रेखा थापा पनि सगरमाथा चढ्ने हल्ला केहि समय अगाडी चलेको थियो तर उनलाई निशाले उछिन्ने प्रयास गरेकी छिन् । निशाको यो अभियान कत्तिको सफल हुने हो हेर्न बाँकी छ । जे होस् उनलाई फिल्मीखबरको तर्फबाट सफलताको शुभकामना !

