८० लाखको हाराहारीमा तयार भएको फिल्म 'नोटबुक' खोल्न बेलायतका एक एनआरएनले हरेक शोको दुई लाख रूपैंया निर्मातालाई बुझाउने भएका छन् । बिहिबार नोटबुकको निर्माण युनिट र बेलायतमा बस्दै आएका एनआरएन अमन गौचन ५ शो सम्म फिल्म चलाउने र हरेक शो गरे वापत निर्मातालाई दुई लाख रूपैंया बुझाउने सहमती भएको हो ।
'हामीले मार्केट बुझेर धेरै डिमाण्ड गरेका छैनौं,' निर्देशक योगेश घिमिरेले फिल्मीखबरलाई भने- 'अरू देशबाट पनि कुरा आएको छ । हामी इच्छुक व्यक्तिलाई सुहाउँदो रकममा फिल्मको राईट दिनेछौं ।' चैत्र ३० गते रिलिज हुन लागेको यो फिल्मले अहिले राम्रै चर्चा पाईरहेको छ । निर्देशक घिमिरे भन्छन्- 'फिल्म राम्रो बनाएको छु त्यसैले म ढुक्क छु फिल्म राम्रो चल्छ ।' फिल्मको गीतले पाएको चर्चाले पनि योगेशको बिश्वास बढेको हो ।
योगेश घिमिरेको कथामा शिबम अधिकारीले तयार पारेको पटकथा तथा संवादमा जीवन लुईटेल, नीता ढुंगाना र शेन सापकोटाले आफ्नो अभिनय कला प्रस्तुत गरेका छन् । प्रज्ञा फिल्म्सको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यस फिल्ममा बसन्त सापकोटाको संगीत तथा संजय लामाको छायाँकन रहेको छ ।

