भोजपुरी फिल्मले नेपालको पहाडी ईलाकामा त्यति दर्शक पाउँदैन । यद्यपी मिथिला, भोजपुर क्षेत्र र भारतको विहार क्षेत्रमा भोजपुरी फिल्मको बजार निकै ठुलो छ । कुनै बेला नेपाली फिल्मका चर्चित नायक विराज भट्ट अहिले भोजपुरी फिल्म खेलिरहेका छन् र उनका फिल्महरु कहिँकतै पहाडी ईलाकाका हलहरुमा पनि प्रदर्शनमा आउने गरेका छन् । तर, भाषागत समस्याका कारणले त्यस्ता फिल्ममा नेपाली दर्शक संख्या निकै कम मात्र हुने गरेको छ ।
यस्तै बेलामा भोजपुरी फिल्मबाटै नेपालका पहाडी ईलाकामा पनि दर्शक तान्ने अभियानमा लागेको छ एउटा भोजपुरी फिल्म ‘बब्बाल’ । आन्भी फिल्मस्को ब्यानरमा बनेको यो फिल्ममा भोजपुरी र नेपाली भाषा बराबर रुपमा प्रयोगमा आएको निर्माणपक्षले दावी गरेको छ । कमेडी एण्ड एक्सन श्रेणीमा बनेको यो फिल्ममा दुईवटा पुर्णतया नेपाली भाषाको गीत समेत समावेश छ । ‘जाउँ न हनिमुन मनाउन जाउँ’ र ‘कहाँ छोडी गयौ’ भन्ने गीतहरु नेपाली भाषाका हुन् । फिल्ममा अन्य दुईवटा गीत भोजपुरी भाषाका छन् ।
भोजपुरी फिल्मका कमेडीयन निरज राज पौडेल यस फिल्मका मुख्य कलाकार हुन् । सृजना श्रेष्ठ र गीता क्षेत्रीले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई समिरकुमार जोशीले निर्देशन गरेका हुन् । फिल्ममा निरजराज पौडेल, राजन अधिकारी, आशा भुषाल, संगीता यादव र भरत क्षेत्री लगाएतका कलाकारहरुको अभिनय रहेको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्म केहि महिनाभित्रै नेपालका हलहरुमा लाग्नेछ ।
फिल्ममा टिनएजर्स लभस्टोरीलाई मुख्य विषयबस्तु बनाएको निर्माणपक्षले जनाएको छ । ‘एउटी सोझी स्कुले केटी जब समयको वहावसंगै विभिन्न उतारचढावहरु भोग्छिन् तब उनी खराब चरित्रकी केटी भएर बबाल मच्चाउछिन्,’ फिल्मको मुल मर्म नै यहि भएको निर्देशक जोशीले बताए । मैथली, भोजपुरी र नेपाली भाषाको संयोजन सहित फिल्म बनेकोले सबै हिमाल, पहाड र तराईमा उत्तिकै यो फिल्मलाई मन पराउनेमा आफु ढुक्क रहेको पनि उनले सुनाए ।

