केहि साता अगाडी युकेमा रिलिज गरिएको फिल्म 'नाईन ओक्लक' को गत आईतवार हङकङमा प्रदर्शन गरियो । याउ मा तेईस्थित हेनरी जी लियोङ हलमा नेपलीज आर्टस् एन्ड कल्चर एसोसिएसनले आयोजना गरेको उक्त प्रदर्शनीमा निर्देशक बाबुराम ढकाल, निर्माता रमेश संवेदना, नायक ध्रुब दत्त, नायिका सुमिना घिमिरे र नेपालबाटै गएका सञ्चारकर्मी राजन घिमिरेको साथमा थुप्रै गैरआवासिय नेपालीहरूको उपस्थिती रहेको थियो ।
छिटो धन कमाई सुखी जिन्दगी बिताउने महत्त्वाकांक्षी सपना बोकेकी युवती यौनकर्मी बन्दा उसको जीवनसँगै परिवार र समाजमा आउने उतारचढावलाई मुख्य बिषय बनाईएको 'नाईन ओक्लक' लाई दर्शकले रूचाएको निर्देशक ढकालले बताए । उनले यौनको बिषयलाई मुख्य बिषय बनाए पनि अपाच्य सिन नभएकाले दर्शकले रूचाएको उनको भनाई थियो । 'युके र हङकङका दर्शकले त फिल्मलाई रूचाए अब नेपालका दर्शकले पनि रूचाउनेछन् भन्ने हाम्रो बिश्वास छ,' निर्देशकले भने ।

आगामी शुक्रबार अर्थात चैत्र १६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मको भोली साँझ ४ बजे राजधानीको चावहिल स्थित एफक्यूब सिनेमा घरमा भव्य समारोहका विच प्रिमियर गरिंदैछ । प्रिमियरमा फिल्मको निर्माण टिमको साथमा सञ्चारकर्मी र फिल्मकर्मीको उल्लेख्य सहभागिता रहने निर्देशक ढकालले बताए । आर्यन फिल्म्सको व्यानरमा रमेश संवेदनाले निर्माण गरेको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

