यहि चैत्र २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'को निर्माण युनिट प्रोमोशनका लागि आज आईतवार देशदौडाहमा निस्केको छ । एक साताको समय निकालेर निर्देशक दीपेन्द्र के खनाल, नायक राज घिमिरे, वितरक नरेन्द्र महर्जन, सम्पादक दीर्घ खड्का र प्रोडक्सन म्यानेजर बुद्धिलाल मगरको टिम फिल्म प्रोमोशनका लागि निस्केको हो ।
आफ्नो पहिलो गन्तव्य पोखरा बनाएको यो टिमले हलहरूमा थ्रीडी प्रबिधिबाट भिजिलान्तेको परिक्षण गर्ने र दर्शकहरूसँग पनि फिल्मको बारेमा प्रत्यक्ष कुरा गर्ने बताएको छ । निर्देशक खनालले आफ्नो भ्रमणको उद्देश्यका बारेमा प्रस्ट्याउँदै भने- 'मुख्यत: देशका हलहरूमा थ्रीडीको प्रोजेक्सन चेक गर्नु र फिल्मको बारेमा जानकारी गराउनु हो । तर, योसँगै हामी हल-हलमा पुगेर दर्शकहरूलाई थ्रीडी फिल्मको बारेमा बुझाउछौं पनि ।'
पोखराबाट बुटवल हुँदै नारायणगढ, हेटौंडा, बिरगञ्ज, धरान, बिराटनगर, दमक र बिर्तामोडसम्म पुग्ने योजनाका साथ आफूहरू देशदौडाहमा निस्केको दीपेन्द्रले बताए । यो मुख्य शहरसँगै बाटोमा पर्ने हलहरूमा पनि पुग्ने उनको भनाई छ । यस्तै केहि प्रमुख शहरमा पत्रकार भेटघाट कार्यक्रम समेत गर्ने यो टिमको योजना छ । 'पहिलो थ्रीडी फिल्म भएकाले सम्पूर्ण दर्शक तथा हल सञ्चालकले यसबारेमा जान्नुपर्ने भएकाले पनि हामी प्रोमोशनमा निस्केका हौं,' दीपेन्द्रले भने ।
समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किईएको यो फिल्ममा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन् । शान बस्न्यातको लेखन रहेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत रहेको छ ।

