चैत्र ३० गते रिलिज हुन लागेको प्रतिक्षित फिल्म 'नोटबुक'मा रहेको 'गाला रातै' बोलको गीतले बजार तताईरहेको बेला निर्माण युनिटले पुन: अर्को सुमधुर गीत रिलिज गरेको छ । सार्वजनिक गीतमा नायिका नीता ढुंगानालाई डेब्यू हिरो शेन सापकोटाले अनस्क्रिन साथ दिएका छन् ।
देशभर चलिरहेको रिदम फिल्मको गीतबाट राम्रो तारिफ पाईरहेका बसन्त सापकोटाले संगीत भरेको प्रस्तुत गीतलाई पनि दर्शकस्रोताले शतप्रतिशत नै मन पराउने दाबी निर्देशक योगेश घिमिरेको छ । 'गाला रातै जत्तिकै यो गीत पनि हिट हुने कुरामा म बिश्वस्त छु,' योगेशले भने । स्वप्निल बरालको शब्द रहेको प्रस्तुत सार्वजनिक गीतमा दीपक लिम्बु र मिलन अमात्यको स्वर रहेको छ । भिडियोको करियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
अबको ५० बर्ष पछिको नेपालको परिकल्पना गर्दै निर्देशक घिमिरेले तयार पारेको नोटबुकमा नीत र शेनको साथमा जीवन लुईटेल पनि मुख्य भुमिकामा छन् । फिल्म यि तीनै जनाको वरिपरि घुमेको निर्देशकले जानकारी गराए । प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । पछिल्लो समय निकै चर्चामा रहेका संजय लामाको छायाँकन रहेको छ ।

