पहिलाको रेखा फिल्म अहिलेको छबिराज ओझा प्रोडक्सनमा काम पाए आफूलाई भाग्यमानी ठान्ने फिल्मकर्मीहरूको संख्या यो नगरीमा धेरै छ । एक पटक छबिको नामसँग जोडिएर फिल्ममा काम गर्न पाए आफू सफल हुने पनि फिल्मकर्मीहरू बताउँछन् ।
राजेश हमाल, रेखा थापा, आर्यन सिग्देल जस्ता अहिलेका स्टारहरूलाई फिल्म उधोगमा ल्याएका छबिले थुप्रै कलाकार तथा प्राबिधिकहरूलाई यो क्षेत्रमा ल्याएका छन् । कति कलाकार छबिको व्यानरमा दोहोरिएका छन् भने कतिले एउटै फिल्ममा चित्त बुझाउनु परेको छ । बिशेषत: छबिले निर्देशकलाई भने कमै दोहोर्याएका छन् । १४ फिल्मको निर्माणमा छबिले तीन जना निर्देशक विश्व बस्नेत, उज्जवल घिमिरे र सबिर श्रेष्ठलाई दोहोर्याएका छन् ।
नाता पछि यस्तै रहेछ जीन्दगीमा विश्व बस्नेतलाई दोहोर्याएका छबिले किस्मत पछि अन्दाजमा उज्जवल घिमिरेलाई दोहोर्याए । दुई बर्ष अगाडीको सुपरहिट फिल्म कस्ले चोर्यो मेरोबाट डेब्यू गरेका सबिरलाई छबिले हमेशामा पुन: दोहोर्याए । नाताबाट सफलता हातपारे पछि विश्व दोहोरिएको बताउँदै छबिले किस्मत पनि हिट भएकै कारणले उज्जवललाई पुन: लिएको बताएका छन् ।
विश्वले निर्देशन गरेको दोस्रो फिल्म यस्तै रहेछ जीन्दगी छबि ओझाको फिल्म निर्माणमा सबैभन्दा बढि असफल बन्यो जसले गर्दा पुन: विश्वलाई दोहोर्याएका छैनन् । उज्जवले दोस्रो फिल्म अन्दाजबाट पनि छबिलाई सन्तुष्ट बनाए । हुनत यो फिल्म निर्माणमा अशोक शर्मा र उज्जवल आफै पनि सहभागी थिए । सबिर दोहोरिनुको कारण पनि यस्तै छ । छबिले आफ्नो फिल्म निर्माणको क्रममा आफैले ल्याएको निर्देशक सबिरले निर्देशन गरेको कस्ले चोर्यो मेरो मनलाई उत्कृष्ट फिल्मको पहिलो नम्बरमा राखेका छन् ।
'सबिरको काम गर्ने शैली, व्यवहार अनि लगनशिलताले गर्दा मैले त्यो बेला नै अर्को फिल्म गर्ने भनेर बचन दिएको थिएँ,' छबिले सुनाए । यहि चैत्र ३० गते रिलिज हुन लागेको हमेशा कस्ले चोर्यो मेरो मन भन्दा राम्रो बनेको छबिको दाबि छ । यता सबिरलाई पनि यो फिल्म राम्रो बनाउनु च्यालेञ्जिङ नै थियो । कारण, उनका यसअघिका दुई फिल्म इशारा र के म तिम्रो साथी बन्न सक्छुले सोचे अनुरूपको सफलता पाउन सकेनन् ।
छबिले त आफ्नो यो फिल्म हिट हुने दाबि गरेका छन् । 'फिल्म राम्रो बनेको छ त्यसैले असफल हुन्छ भनेर त सोच्नै सक्दिन,' छबिले भने । हमेशा हिट भए छबिले पुन: सबिरलाई नै लिन्छन् कि लिदैनन् हेर्न बाँकी छ ।

