सन्तान प्राप्ती भएपछि अभिनयबाट टाढा हुन पुगेकी अभिनेत्री अरूणिमा लम्साल कमव्याक हुने भएकी छिन् । होलीको शुभसाईत पारेर यहि चैत्र १३ गतेबाट फ्लोरमा जान लागेको फिल्म 'पीपल'मा अरूणिमाले मुख्य भुमिका निर्वाह गर्दैछिन् ।
पीपलमा टिनेजर युवती देखि प्रौढ उमेरकी महिला सम्मको भुमिका निर्बाह गर्न लागेकी अरूणिमाले यसै फिल्मबाट आफ्नो पुनर्जन्म हुने बताएकी छिन् । छोरीलाई जन्मदिएको केहि महिनाम नै फिल्म खेल्न तयार भएकी अरूणिमा राम्रो भुमिकाको खोजीमा थिईन् । 'बल्ल भनेजस्तो रोल पाएँ । यो भुमिकालाई मैले पूर्ण न्याय गर्नेछु,' अरूणिमाले भनिन् ।' अरूणिमाले केहि महिना अगाडी उर्वसी नामक फिल्ममा बिशेष अतिथी भुमिका निर्वाह गरेकी थिईन् जुन रिलिज हुन बाँकी नै छ ।

पाल्पाबाट सुटिङ शुरू भई तम्घास, रिडी, मिर्मी, बुटवल लगायतका स्थानलाई समेत क्यामेरामा कैद गर्न युनिट भोली अर्थात चैत्र १२ गते पाल्पा प्रस्थान गर्दैछ । केहि म्युजिक भिडियो तथा भिडियो फिल्म निर्देशन गरिसकेका निरञ्जन कसजुले निर्देशन गर्न लागेको यो फिल्मलाई रेड एप्पल मुभिजले निर्माण गर्दैछ । यसअघि 'आइ एम ईन लभ' नामक फिल्म निर्देशन गरेका सचिनराज अमात्यले पीपलमा निर्माताको भुमिका निर्वाह गर्दैछन् ।
अनमोल शर्माले सह-निर्देशक भई निर्देशकलाई सघाउने भएका छन् भने छायाँकन बाबु श्रेष्ठले गर्नेछन् । जगदिश्वर थापाको लेखन रहेको यो फिल्ममा लोचन घिमिरे र रेखा पौडेलको संगीत, प्रदीप श्रेष्ठको करियोग्राफी रहनेछ भने द्धन्दनिर्देशन योगेन्द्र श्रेष्ठले गर्ने भएका छन् । यस्तै सुवास काफ्ले 'दु:खी'ले प्रोडक्सन म्यानेजरको जिम्मा सम्हाल्दैछन् । यो फिल्ममा अरूणिमाको साथमा किशोर खतिवडा, शुष्मा अधिकारी, अमिर ठकुरी र ध्रुब कोईरालाको मुख्य भुमिका रहने भएको छ ।

