यौनको कथाले नेपाली फिल्म उधोगलाई नयाँ दिशा दिएर नेपाली दर्शकलाई नयाँ स्वाद चखाउन फिल्म 'साँघुरो' यहि बैशाख १३ गते रिलिज हुने भएको छ । चर्चित वितरक नरेन्द्र महर्जनले नयाँ बर्षको अवसरमा नयाँ टेस्टको फिल्म दर्शकसामु पस्कन उल्लेखित्त मिती रिलिजका लागि तय गरेको बताए ।
नेपाली समाजमा घटिरहेको यौन कुण्ठाको यथार्थ घटनालाई मुख्य बिषय बनाएको यो फिल्मलाई समिर मैनाली प्रोडक्सनको व्यानरमा जोएस पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले उठाएको कथाबस्तु आम नेपालीको दैनिक जीवनसँग धेरै नजिक रहेको भन्दै निर्देशक पाण्डेले दर्शकको मन छुनेमा ढुक्क रहेको बताए । समिर मैनाली निर्माता रहेको यो फिल्ममा शुशांक मैनाली, दीया मास्के, दयाहाङ राई, अरूणा कार्कीको मुख्य भुमिका रहेको छ ।
समस्या र अभावबीच जीवन चलाइरहेको परिवारमा नियमित क्रमिकता भन्दा बाहिरको एउटा घटनाले परिस्थितिहरु हरेक पात्रको विपरित बनाइदिन्छ । अनि तिनै विपरितका परिस्थिति र अभावमा जुधिरहदा पात्रहरु मानसिक र शारीरिक रुपमा कमजोर, विभाजित र विक्षिप्त बन्दै जान्छन् । यहि कथासार रहेको यो फिल्म काठमाडौंको फराकिलो सडकको दृष्यबाट शुरु भई एउटा सानो कोठामा भौतिक र मानसिक द्वन्द्वले निम्त्याएका परिणाममा पुगेर सकिने निर्देशकले बताए ।
फिल्मको कथा बिनोद पौडेलले लेखेका हुन् भने छायाँकन सुसन प्रजापतीले गरेका हुन् । फिल्ममा मदन गोपालको संगीत रहेको छ भने गीत अविरल थापाको रहेको छ ।

