कमर्सियल फिल्ममा राम्रै नाम पाएका प्रदीप श्रेष्ठले निर्देशन गरेको 'मेरो मनको साथी'लाई दर्शकहरूले नयाँ बर्षको उपहारको रूपमा हेर्न पाउने भएका छन् । बैशाख १३ गते रिलिज हुन लागेको यो फिल्मको गीतले राम्रै चर्चा पाएको छ भने केहि दिन अगाडी सार्वजनिक गरिएको प्रस्तुत प्रोमोले पनि दर्शक तान्ने बिश्वास निर्माण युनिटको छ ।
न्यु भेनस फिल्म्स् प्रालिको ब्यानरमा राजेश शाहीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल र जस्मिन श्रेष्ठको अनस्क्रिन रोमान्स हेर्न सकिनेछ । यि दुई कलाकारको साथमा फिल्ममा राजेश हमाल, आयुष रिजाल, सुनिल दत्त पाण्डे लगायतको अभिनय रहेको छ । यसअघि जीवनरेखा, दुई पल, अजम्बरी नाता, डर, भगवान सबैको, सपना, कवच र सडक निर्देशन गरिसकेका प्रदीपले यस फिल्मबाट निकै आश राखेको बताएका छन् ।
फिल्मलाई पूर्ण मनोरञ्जनात्मक बनाउने कोसिस गरेको बताउँदै निर्देशक श्रेष्ठले भने- '२ घण्टा १५ मिनेटसम्म दर्शकलाई फिल्मले बाँधेर राख्ने छ ।' फिल्ममा कथा प्रदीप श्रेष्ठ, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत महेश खड्का, नृत्य कविराज गहतराज, द्वन्द्व हिमाल केसी, गीत नरेश भट्टराई र दयाराम पाण्डे, छायांकन रामशरण उप्रेती र सम्पादन विपीन मल्लको छ ।

