'असाध्यै राम्रो लाग्यो । विशेष गरी यो फिल्मले राष्ट्रियताको सवालमा उठाएको प्रसंगले मेरो मन निकै छोयो,' स्पेशल शो पश्चात गोपिकृष्ण थिएटरबाट बाहिरिदै गर्दा माग्ने बुढो (केदार घिमिरे)ले रिदमको प्रतिक्रिया दिदै भने । उनलाई पछिल्लो समय हेरेको नेपाली फिल्मको तुलनामा यो फिल्मले पुरै समय होल्ड गराएर राख्न सफल भएको थियो ।
यसैगरी बरिष्ठ साहित्यकार कृष्ण धारावसीले पनि फिल्मले त्यतिकै सन्तुष्टी प्रदान गरेको प्रतिक्रिया दिएका छन् । धारावासीले समय सापेक्षको उत्कृष्ट फिल्म भनेका छन् रिदमलाई । 'फिल्ममा कमी कमजोरी छन् तर ती कमी कमजोरीलाई माफ दिनुपर्छ,' फिल्मी कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीको प्रतिक्रिया छ । यसैगरी विज्ञापन संघका अध्यक्ष राजकुमार भट्टराईले धेरै पछि नेपाली मनको फिल्म हेर्न पाईएको प्रतिक्रिया दिदै अहिलेको सन्दर्भमा गरिएको व्यङ्ग्य प्रहारले मन छोएको बताए ।
पहिलो मिस नेपाल रुबी राणाले पनि फिल्म हेर्दा बोर फिल नगरेको प्रतिक्रिया दिईन् । यसैगरी कष्ट्यूम डिजाईनमा निकै ख्याती कमाएका उत्तम बनेपालीले ईन्टरभल सम्म मात्र फिल्म हेरेर फर्किने बिचार बनाए पनि पुरै फिल्मले आफूलाई होल्ड गरेको प्रतिक्रिया दिए । हिरोईनद्धय रिमा विश्वकर्मा र बेनिशा हमालको प्रतिक्रिया करिब उस्तै छ । उनीहरुले टाईटल रिदम अनुसारको न्याय फिल्मले गरेको तर्क गरेका छन् । यता जुनियर हिरो संयम पुरीले पनि फिल्मलाई राम्रो भनी प्रतिक्रिया दिएका छन् । विशेष गरी उनलाई आफ्ना पार्टनर विल्सन बिक्रम राईको काम अत्यन्त मन पर्यो यो फिल्ममा ।
विकास आचार्यको निर्देशनमा बनेको यो फिल्ममा जीवन लुईटेल लिड रोलमा छन् भने सोहित मानन्धर डेब्यू गर्दे सेकेण्ड लिडमा छन् । फिल्ममा नीर शाह, विल्सन बिक्रम राईको साथमा स्वेता भट्टराई, निस्मा घिमिरे र बाल कलाकार अनुभव रेग्मीको पनि महत्वपूर्ण भूमिका छ । ३७ लाखको बजेटमा तयार भएको यो फिल्मले नाफाको ग्राफ छोईसकेको छ । ईनिसियल विजनेस सामान्य गरेको रिदमको हिजो भन्दा आजको र आजको भन्दा भोलिको बिजनेस बढिरहेको रिपोर्ट प्राप्त भएका छन् ।









