निर्माता संघ अध्यक्ष राजकुमार राईले आफूलाई कमजोर बनाउन केहि व्यक्तिहरूले चाल चलिरहेको आरोप लगाएका छन् । फिल्मीखबरसँगको भेटमा राईले आगामी निर्वाचनमा पनि अध्यक्ष पदमा उठ्न लागेकाले आफूलाई कमजोर बनाएर केहि बिपक्षीहरू अगाडी बढ्न खोजेको आरोप लगाएका हुन् ।
आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन खोजिएको बिषयमा बोल्दै राईले भने- 'मलाई जुन आरोप लगाएर यो अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको थियो त्यो मात्र मसँगको व्यक्तिगत आल्छना हो ।' आफूमाथी लागेको आर्थिक हिनामिना र पद लोभको लाल्छना गलत भएको भन्दै राईले संघको आर्थिक हिनामिना नगरेको बताए । उनले भने- 'मैले आर्थिक हिनामिना गरेको प्रमाण कसैले देखाउँछ भने जुनसुकै सजाय भोग्न म तयार छु ।'
यस्तै राईले हल वर्गिकरण र वक्स अफिसको बिषयलाई असफल पार्न पनि आफूमाथी अविश्वासको प्रस्ताव ल्याउन खोजिएको बताए । उनले व्यक्तिगत रिसिवीलाई संस्थासँग जोड्दा चित्त नबुझेको बताए । आफ्नै सदस्यहरूले कार्यसमितीको छलफलमा चित्त नबुझेको कुरा राख्नुको सट्टा यसलाई बिबादमा ल्याउँदा संस्थाको गरिमा पनि हराउने राईको भनाई थियो । 'व्यक्तिगत आल्छना त म जो कोहीलाई लगाउन सक्छु तर नैतिकताले मलाई यस्तो गर्न दिंदैन,' राईले भने ।
फाल्गुन महिनामा नै निर्मातासंघको कार्यसमितीको कार्यकाल सकिएको थियो तर केहि निर्माताहरूले अध्यक्ष राईले पदको लोभ गरेको भन्दै मिती थपेर पनि बैशाख महिना भित्रमा चुनावी साधारण सभा गर्नु पर्नेमा साउनमा पुर्याएकाले पनि अविश्वासको प्रस्ताव ल्याउन लागेको बताएका छन् । तर अहिले यो अविश्वासको प्रस्तावलाई रोकेको बताईएको छ भने संघले बैशाख भित्रमा नै चुनावी साधारण सभा गर्न सकिने संकेत गरेको छ । यसै बिषयमा छलफल गर्न यो २/३ दिन भित्रमा संघको कार्यसमितीको बैठक समेत बस्दैछ ।

