रिलिजको पूर्व सन्ध्यामा फिल्म मञ्जरीको थप अर्को गीत रिलिज गरिएको छ । निर्माण युनिटले यसअघि दुई वटा गीत सार्वजनिक गरिसकेको छ र ति गीत दर्शकस्रोताको मनमा बसिसकेको छ ।
चैत्र ९ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षित यो फिल्मको अहिले राजधानीका चोकचोकमा रोड शो कार्यक्रम गरिंदैछ । फिल्म निर्माता महेश चालिसेले दिएको जानकारी अनुसार हरेक दिनमा राजधानीका एउटा चोकमा स्टल बस्ने छ जहाँ फिल्मको बारेमा जानकारी गराउनुका साथै गीतहरू पनि देखाईने छ । यो दर्शकसँगको प्रत्यक्ष भेटमा फिल्मका मुख्य प्रोटागनिस्ट गौरब पहारी र सुजाता कोईरालाको साथमा फिल्मको निर्माण युनिट उपस्थित हुनेछ ।
टिनेजर केटाकेटीको प्रेमकथाको प्रतिनिधि पात्र मानेर गौरव र सुजाताको प्रेमलाई रोमाञ्चक तरिकाले निर्देशक गणेश देव पाण्डेले मञ्जरी मार्फत प्रस्तुत गरेको सार्वजनिक गीत तथा प्रोमोबाट बुझ्न सकिन्छ । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ ।

