भोली शुक्रबारबाट देशभरका करिब ४ दर्जन फिल्म हलमा अभिनेत्री रेजिना उप्रेतीले निर्माण गरेको फिल्म वरदान लाग्ने भएको छ । यो फिल्मसँगै ‘हु विल बि अ गोर्खा’ नामक डकुमेन्ट्री पनि देशका केहि पर्दामा रिलिज हुँदैछ ।
पारिवारिक प्रेमकथामा आधारित यो फिल्मलाई रेजिना फिल्म्स र कविताको कविता फिल्म्सको संयुक्त व्यानरमा रेजिना र कविता श्रेष्ठले मिलेर निर्माण गरेका हुन् । शोभित बस्नेतले निर्देशन गरेको यो फिल्ममा राजेश हमाल, करिष्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल र अर्जुन कार्कीको मुख्य अभिनय रहेको छ । फिल्मको कथा सञ्चारकर्मी ध्रुब लम्सालले लेखेका हुन् भने संगीत मनोहर सुनामको रहेको छ । यस्तै फिल्ममा राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ ।
गत फाल्गुन २५ गते नै देशभर लाग्ने भनिएको यो फिल्म उक्त मितीमा मोफसलका ९ वटा पर्दामा मात्र रिलिज भएको थियो । 'बिशेष फिल्म मार्फत चैत्र २ गते देशभरका अधिकांश मुख्य हल पाउने भएपछि हामी व्याक भएका हौं,' निर्माता कविता श्रेष्ठले भनिन्- 'तर यो बन्दको माहोलले असर गर्ला जस्तो छ ।' बन्दको असर परेन भने फिल्मले राम्रो व्यापार गर्नेमा कविता ढुक्क छिन् ।
शून्यता फिल्मस् प्रोडक्सन तथा गोन्जाजुको निर्माणमा तयार भएको डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’ अर्थात् ‘को बन्छ लाहुरे’ लाई केसाङ छेतेनले निर्देशन गरेका हुन् । पोखरास्थित ब्रृटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रियालाई विषयवस्तु बनाएर तयार गरिएको यो डकुमेन्ट्रीले थुप्रै अर्न्तराष्ट्रिय स्तरको फिल्म महोत्सवमा भाग लिइीसकेको छ ।

