भलिबल खेलाडी सिपोरा गुरुङ अभिनित नेपाली फिल्म ‘घलेक’को विशेष प्रदर्शनी हुने भएको छ । चैत ३, १० र १७ गते यहाँको वाराहि हलमा फिल्म प्रदर्शनमा आउन लागेको निर्माणपक्षले विहिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । गुरुङ सँस्कृतिमा आधारित रहेर बनेको यो फिल्म निकै स्तरिय बनेको निर्माणपक्षको दावी छ ।
पोखरामा हुने विशेष प्रदर्शनीसंगै फिल्मलाई हङकङ, यूके, अमेरिका, बेल्जियम र बहराईनमा समेत प्रदर्शनमा ल्याईने पत्रकार सम्मेलनमा जानकारी दिईयो । यो फिल्मको पोखरामा मात्रै १५ शो हुनेछ । त्यससंगै सिपोरा अभिनित फिल्म घलेकलाई काठमाण्डौ, नारायणगढ, बुटवल, धरान, पर्वत, बागलुङ, दमौली, लमजुङ, स्याङ्गजा, गोरखा, सुर्खेत, नेपालगंज, नवलपरासी र लेखनाथमा पनि विशेष प्रदर्शन हुने निर्देशक कृष्णकुमार गुरुङले जानकारी दिए ।
‘अहिले सिपोरा मिस नेपालको तयारीमा जुटिरहेकी छन्,' निर्देशक गुरुङले भने–‘फिल्मको प्रदर्शनीले उनलाई अझै सहयोग गर्ने भएकोले पनि हामीले यहि मेसोमा फिल्म शो गर्न लागेका हौँ ।’ फिल्ममा सिपोराका काम प्रशंसायोग्य भएको उनले बताए । यो फिल्मको लागी निर्माणपक्षले सिपोरालाई २ लाख रुपैँया पारिश्रमिक दिएको थियो । गुरुङ फिल्महरुको ईतिहासमा एउटी नायिकाले पाएको यो पारिश्रमिक सम्भवत सबैभन्दा धेरै हो ।

फिल्ममा सिपोराको डबल रोल भएको निर्माणपक्षले जनाएको छ । सिपोरालाई फिल्ममा पनि भलिबल खेलाडीकै रुपमा प्रस्तुत गरेको निर्देशक कृष्णकुमार गुरुङले बताए । ‘भलिबलमा सिपोराको क्रेज भएकोले फिल्ममा पनि हामीले उसको त्यो क्रेजलाई मार्न चाहेनौँ,’ उनले भने–‘त्यसैले स्क्रिप्टमा केहि फेरबदल गरेरै भएपनि हामीले सिचुएश्नल्ली मिल्ने गरेर कथालाई मोडेका छौँ ।’ फिल्ममा सिपोरा वर्मेली युवतीको भुमिकामा छिन् ।
भकारी फिल्म्स्को ब्यानरमा निर्माण भएको फिल्म ‘घलेक’मा सिपोराको साथमा गमन घले, माया गुरुङ, ताराबहादुर गुरुङ, प्रेमा गुरुङ, सिता गुरुङ, सम्झना गुरुङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई माया गुरुङ, माओत्सेतुङ गुरुङ र सपना गुरुङ मिलेर निर्माण गरेका हुन् । प्रकाश गुरुङ ‘काश’को छायाँकन रहेको फिल्ममा द्वन्द जनक गुरुङ, नृत्य लवसन गुरुङ, सम्पादन सर्वज्ञमान शाक्य र साउन्ड मिक्सिङ बुद्ध बज्राचार्यले गरेका छन् । पोखरासंगै काँडे, सिक्लेस र गुरुङ जातिको उद्गमस्थल क्होला सोंथरमा समेत छायाँकन भएको फिल्ममा ५ वटा गीत समावेश छन् ।
तस्वीर : सुदर्शन रञ्जित

