अन्तत: निर्माता संघका अध्यक्ष राजकुमार राईलाई अविश्वासको प्रस्तावबाट हटाउन निर्वतमान अध्यक्ष नै अग्रसर भएको रहस्य आज हामी तपाईलाई खोल्दैछौ । हाल डिजिटल सिनेमा नेपाल डिसिएनका प्रवन्ध निर्देशक समेत रहेका निर्माता संघका निवर्तमान अध्यक्ष अशोक शर्माले आफ्ना प्यानलमा रहेका फिल्मकर्मीलाई चेपुवामा पार्दै राईलाई हटाउने तयारीमा करिब सफलता हासिल गरिसकेको स्थिती छ ।
अशोकले हाल निर्माता संघको कार्यसमितिमा रहेका छवि ओझालाई पनि राजकुमार राईको विरुद्ध ल्याउन लागिएको अविश्वासको प्रस्तावमा आज सिग्नेचर गराउन सफल भएका छन् । उनले बेलुकी साढे सात बजे डिसिएन कार्यालय कमलपोखरीमा छविको हस्ताक्षरलाई अविश्वासको पत्रमा उतार्न सफल भएका हुन् । छवि ओझा राजकुमार राई विरुद्धको अविश्वसको प्रस्तावमा साईन गर्ने वा नगर्ने बिषयमा दुई दिन देखि दोधारमा थिए तर डिसिएन विजनेस पार्टर अशोकको दवाबमा उनी आफ्नै कार्यसमिति विरुद्ध अविश्वासको पत्रमा हस्ताक्षर गर्न बाध्य भएका हुन् ।
छवि दोधारमा पर्नुको कारण विपक्षी पार्टी माओवादी निकट हुँदाको अवस्थामा पनि काँग्रेसको बाहुल्यता रहेको निर्माता संघमा रिक्त रहेको कार्यसमिति सदस्यपदमा उनलाई तानिएको कारण हो जसकारण यो अभियानमा न्यूट्रल बस्ने सोच बनाएका थिए उनले । तर, छविको सोचले अन्तिम समयमा काम भने गरेन । छवि नीलहरी काफ्लेलाई हटाईएको स्थानमा गएको भदौ २१ गते कार्यसमिति सदस्यरुमा तानिएका थिए ।

यस्तै अशोकले प्रोड्यूसर नीलहरी काफ्लेको तीब्र सक्रियतामा निर्माता संघको कार्यसमितिमा रहेका उपाध्यक्ष उदय सुब्बा र सदस्य गोविन्द शाही लगायत १३ जना प्रोड्यूसरहरुको पनि हस्ताक्षर गराउन सफल भएका छन् । अर्को तर्फ अचम्मको कुरा चाहि के छ भने हाल कालाकार संघका अध्यक्ष नवल खड्का जो निर्माता संघका सदस्य पनि हुन् उनलाई पनि अशोक शर्मा लगायतका केही प्रोड्यूसरहरुले अविश्वासको अभियानमा हस्ताक्षर गराईसकेका छन् । नवलले राई विरुद्धको अविश्वासको पत्रमा हिजो साँझ डिसिएन कार्यालयमा हस्ताक्षर गरेका थिए । गएको आन्दोलनमा एक आन्द्रो रहेका नवल र राजकुमारको सम्बन्धमा पनि यो हस्ताक्षरले दरार ल्याईसकेको स्थिती छ ।

यस्तै अविश्वासको पत्रमा आज साँझ साढे सात बजे सम्म १३ जना प्रोड्यूसरहरुको सिग्नेचर सम्पन्न भएको छ । सिग्नेचर गर्नेहरुमा उज्जवल घिमिरे, सुनिल रावल, निलहरी काफ्ले, दीपक रमण, विकास आचार्य, दिनेश पाख्रिन र नरेश देव पाण्डेको नाम छ । श्रोत अनुसार कार्यसमितिमा रहेका थप दुई सदस्य रोज राणा र महासचिव केशव भट्टराईले पनि भोलि सम्ममा अविश्वासको पत्रमा हस्ताक्षर गर्ने खबर छ । यस्तै सिग्नेचर गरिसकेका कार्यसमितिका तीन सदस्य छवि ओझा, उदय सुब्बा र गोविन्द शाहीको राजिनामा पत्र भोलि (बिहिबार) साँझ सम्ममा निर्माता संघमा दर्ता भईसक्ने श्रोतको दाबी छ ।
परिमार्जित सहित निर्माता संघमा दर्ता गरिन लागिएको अविश्वासको प्रस्तावको ब्यहोरा फिल्मीखबरलाई एक्सक्लुसिभ रुपमा पुनः प्राप्त भएको छ, जसको ब्यहोरा यस्तो छ ।
मितिः २०६९।१०।
श्री नेपाल चलचित्र निर्माता सङ्घ
बाल मन्दिर चोक, नक्साल ।
विषयः अविश्वासको प्रस्ताव ।
उपरोक्त विषयमा नेपाली चलचित्र उद्योगको संरक्षण एवं सम्बद्र्धन गर्ने मुल उद्धेश्य बोकेको हाम्रो सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घका वर्तमान अध्यक्ष राजकुमार राईले
(१.) सङ्घको विगतको नेतृत्वले ठुलो संघर्ष पश्चात बनाएको चलचित्र प्रदर्शनको पालो प्रणालीलाई केही समयसम्म पँहुचवालाहरुको वाहुल्यता रहने र आजको मितिले धेरैमा ३ (तीन) महिनामा समाप्त गर्ने घातक कार्य गरि निर्माताहरुको पेशागत हकहित माथी कुठाराघात गरेको
(२.) सबै सदस्यसँग भवन निर्माण शिर्षकमा उठाएको रकमबाट बनेको भवन निर्माण कोषबाट विभिन्न बेतुकी काममा मनोमानी खर्च गराई भवन निर्माण शिर्षकमा पैशा तिर्ने सबै सदस्यहरुलाई धोखा दिंदै भष्ट्राचारजन्य काम गरेको ।
(३.) लोकतान्त्रिक पद्धतीको मुल आधार आवधिक निर्वाचनलाई लत्याएर स्वेच्छाचारी र अलोकतान्त्रिक चरित्रको विकास गर्दै निरन्तर पदमा बस्ने कुर्सी मोह देखाएको । यसै सन्दर्भमा २०६९।११।२१ मा पदावधी समाप्त हुने कार्यसमितिका धेरै सदस्यले भन्दा भन्दै (चाँहदा चाँहदै) पनि कार्यसमितिलाई निर्माता संघको विधान २०५५ को धारा २२(छ) बमोजिमको कर्तव्य निर्वाह गर्न नदिएको ।
(४.) चलचित्रकर्मी साथीहरुको आन्दोलनको भावना विपरित आफ्नो व्यक्तिगत अभिष्ट पुरा गर्ने माग प्रस्तुत गरि आन्दोलन र चलचित्र क्षेत्रलाई अपमानित गरेको, आन्दोलनमा नउठेका माग “संघ सँस्थाको सल्लाह र सिफारिसमा नियुक्त गर्ने बुँदा राखि सम्झौतामा हस्ताक्षर गरेर आन्दोलनलाई पदलोलुप जस्तो घृणित विशेषण दिलाएर बदनाम गराएको ।
(५.) नीज राई आफैंले २०६४ सालमा सिण्डिकेट प्रणालीको अन्त्यको लागि सर्वोच्च अदालतमा रिट दायर गरि सिण्डिकेटको अन्त्य गराएको र हाल सम्मानीत सर्वोच्च अदालतको २०६४ मंसिर २६ को फैसलाको विपरित पुनः सिण्डिकेट लागु गराउने बुँदा राखि सम्झौता गरेर अवशरवादी, दोधारे र प्रतिगामी चरित्र प्रदर्शन गरि नेपाल चलचित्र निर्माता संघको बदनाम गराएको ।
(६.) कार्यसमितिमा अध्यक्ष पद मात्र धारण गर्ने तर काम नगर्ने व्यवहार देखाएको । बार्षिक रुपमा गर्नुपर्ने बार्षिक साधारण सभा गर्न वेवास्ता गरेको । साधारण सदस्यहरुको संघमा आवद्धतालाई कम गर्न दोश्रो वार्षिक साधारण सभा नगराई एकै पटक चुनावी साधारण सभा गर्ने कार्यक्रम बनाएको ।
(६.) नेपालका अन्य राष्ट्र भाषामा निर्मित चलचित्रका निर्मातालाई नेपालको चलचित्रकर्मी होइन र चलचित्र विकास बोर्डमा अध्यक्ष नियुक्ति पश्चात् नियुक्त व्यक्तिलाई चलचित्र विकास बोर्डमा छिर्न नदिने अवैधानिक र अमानवीय अभिव्यक्ति दिई सामुदायीक दङ्गा भड्काएर मुलुकका अन्य समुदाय माझ नेपाली भाषाको चलचित्रलाई बहिस्कृत र अलोकप्रिय बनाउन अग्रसर रहेको......
जस्ता घातक, अलोकतान्त्रिक र निर्माता तथा नेपाली चलचित्र क्षेत्रको हित विपरित कार्य गरेकोले नीज राजकुमार राई नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पदमा एकदिन पनि बढी रहनु नेपालको चलचित्र क्षेत्र र नेपाल चलचित्र निर्माता संघको लागि अत्यन्त घातक हुने ठहर गरि नेपाल चलचित्र निर्माता संघको विधान २०५५ को धारा ३२ अनुसार आजका मितिमा कायम वैधानिक सदस्यहरु मध्ये तल हस्ताक्षर गरेका सदस्यहरुले विधानतः पदमुक्त भइसकेका एवं भ्रष्ट्राचारमा समेत संलग्न देखिएका अध्यक्ष राजकुमार राई विरुद्ध यो अविश्वासको प्रस्ताव पेश गरेका छौं ।
वोधार्थः श्री जिल्ला प्रशासन कार्यालय,
बबरमहल, काठमाण्डौ ।

