गत फाल्गुन २५ गते रिलिज भएको फिल्म 'रिदम' लाई दर्शकले जसरी रूचाएका छन् त्यसरी नै उक्त फिल्मको गीतलाई पनि उत्तिकै रूचाएको पाईएको छ । फिल्मका निर्देशक विकास आचार्यले दिएको जानकारी अनुसार फिल्मको पागल म बन्न सक्छु गीतको सिआरबिटी र पिआरबिटी गरेर ५० हजार भन्दा बढि डाउनलोड भईसकेको छ ।
'जसरी नाइ नभन्नु ल फिल्मको गीतको रिङ व्याक टोनलाई रोचाईएको थियो त्यसरी नै रिदमको गीतको रिङ व्याक टोनलाई पनि रूचाईएको पाईएको छ,' निर्देशक आचार्यले थपे- 'अहिलेको स्पिडमा नै रिङ व्याक टोन डाउनलोड हुँदै भयो भने मात्रै पनि नाइ नभन्नु ल फिल्मको गीतलाई यसले उछिन्ने छ ।' नाइ नभन्नु लको रिङ व्याक टोनबाट मात्रै १२ लाख रूपैंया हात पारिसकेका निर्देशक आचार्यले रिदमबाट त्यो भन्दा बढि रकम हात पार्ने आश गरेको बताए ।
रिङ व्याक टोनको राईट लिएको बुढा सुब्बा म्युजिकले आफूलाई राम्रो रकम उपलब्ध गराएकोले पनि फिल्मको ३० % लगानी यसै रिङ व्याक टोनबाट उठ्न सक्ने बिश्वास उनको छ । नेपाल सहित बिश्वका अन्य केहि मुलुकमा पनि बुढा सुब्बा रिङ व्याक टोनको सुबिधा उपलब्ध गराउने तयारी गरेकाले निर्देशक आचार्यको बिश्वास बढेको हो । यो समाचार तयार पारूञ्जेल सम्म बुढा सुब्बाका सञ्चालक नवराज गिरीले टिपाएको रिपोर्ट अनुसार सिआरबिटीमा महिला र पुरूषको गरेर २१ हजार भन्दा बढि पटक डाउनलोड भएको छ भने पिआरबिटीमा ३० हजार भन्दा बढि पटक डाउनलोड भएको छ ।
'अहिले त दैनिक २ हजारको हाराहारीमा डाउनलोड भएको छ,' गिरीले भने- 'फिल्म चलेको एक साता पनि भएको छैन र अझै धेरै हलमा चल्न बाँकी छ । त्यसैले यो स्पिड अझै बढ्ने छ ।' यता फिल्मको चर्चासँगै गीत पनि हिट भईरहँदा निर्माता प्रदीप दाहाल निकै खुसी छन् । प्रस्तुत गीतको शब्द रचना डा कृष्णहरि बरालले गरेका हुन् भने संगीत बसन्त सापकोटाको रहेको छ । स्वर भने स्वरूपराज आचार्य र रजिना रिमालले दिएका छन् । फिल्म नाइ नभन्नु लको गीत पनि डा कृष्णहरि बरालले नै लेखेका हुन् र स्वर दिपक लिम्बु र रजिना रिमालले दिएका हुन् । संगीत भने महेश खड्काको रहेको थियो ।
यस्तै बिकास आचार्यले निर्देशक गरेको अर्को फिल्म 'म तिम्रो भईसकें' को गीत पनि निकै चर्चामा थियो तर रिङ व्याक टोन भने सोचे अनुरूपले डाउनलोड भएन । 'फिल्म खासै नचलेकाले पनि होला रिङ व्याक टोन धेरै डाउनलोड भएन,' निर्देशक आचार्यले भने । यो फिल्मको गीतमा पनि डा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत तथा दिपक लिम्बु र रजिना रिमालको स्वर रहेको थियो ।
सच्याईएको : फिल्म रिदमको पुरूष गायन तर्फ स्वरूपराज आचार्य हुनु पर्नेमा दीपक लिम्बु भएकाले सच्याईएको छ । (सं)

