Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेतीबाढी पिडितको कथा अन्तिम दशमा

फिल्मीखबर, काठमाण्डौ, 2013/03/13

सेती नदीमा आएको बेमौसमी बाढीले धेरैको ज्यान लियो । कतिलाई घरबारविहिन बनायो तर कसैको रोजीरोटी नै खोस्यो । कसैले नसोँचेको यस्तो खाले प्राकृतिक घटनाले त्यसताका सबैलाई अचम्मित बनाएको थियो । र, त्यसको प्रभाव पोखरा र सेती खोला आसपासका बस्तीहरुमा अझै पनि नकारात्मक नै छ ।

यहि विषयलाई लिएर यहाँका दुई दाजुभाईले एउटा वृत्तचित्र तयार पारे । वृत्तचित्रको नाम हो, ‘निनी रचनी’ । विष्णु गौतमले निर्माण गरेको वृत्तचित्रलाई उनकै भाई शेखर गौतमले निर्देशन गरेका हुन् । दाजुभाई मिलेर बनाएको यो वृत्तचित्र काठमाण्डौमा हुने नेशनल सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट १० मा परेको छ । सेतीको वाढीवाट प्रभावित भई विस्थापित भएका निनी रचनी गाई फारमका संचालक कृषक रुद्रनाथ गौतमको कथामा वृत्तचित्र आधारित छ । वृत्तचित्र ५ मिनेटको रहेको छ । वृत्तचित्रको घनश्याम लामिछानेले छायाँकन गरेका हुन् ।

कृषक रुद्रनाथ सेतीको वाढीवाट प्रभावित भई व्यवसायिक रुपमा सवै भन्दा वढी क्षेती व्यहोरेका व्यक्ति भएको वृत्तचित्र निर्माण टोलीको दावी छ । बेमौसमी रुपमा सेतीमा आएको बाढीले विभिन्न वस्तीहरुसंगै गौतमको करिब एक करोड लागतको फार्म बगाएको थियो । उनको गोठमा ५० वटा उन्नत जातका गाईहरु थिए । जसमा दैनिक ८ जनाले प्रत्यक्ष रोजगारी पाएको पनि वृत्तचित्रमा समेटिएको छ । वृत्तचित्रमा २०५८ साल देखि ६९ साल सम्म उनले गरेको संघर्षका दृश्यहरु समावेश गरिएको निर्माणपक्षले जनाएको छ ।

वेलायतवाट उच्च शिक्षा हासिल गरेर अथवा वेलायतमा राम्रो प्रभाव छोडेर नेपाल फर्किएका व्यक्तिहरुको संस्था चेभिनीङ अल्मुनी एसोशियसन अव नेपालले सर्ट फिल्म फेस्टिभलको आयोजना गरेको हो । फेस्टिभललाई नेपाल स्थित वेलायती दुतावासले सहयोग गरेको छ । प्रतियोगीताको अन्तिम निर्णय शुक्रबार रसियन कल्चर सेन्टरमा सुनाईने आयोजक चेभिनीङ अल्मुनी एसोशियसनका प्रतिनिधी रोशन शेरचनले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेले ७५ हजार रुपैँया, द्वितिय हुनेले ५० हजार र तृतिय हुनेले २५ हजार रुपैँया नगद प्राप्त गर्नेछन् ।