चैत्र ९ गते रिलिज हुने भनिएको फिल्म 'भिजिलान्ते' को रिलिज मिती सरेको छ । फिल्ममा टेक्निकल समस्या आए पछि निर्देशक दीपेन्द्र के. खनाल चैत्र २३ गतेका लागि फिल्मको रिलिज मिती सारेको बताए ।
फिल्मको इनकोडिङ गर्न फाईल भारत पठाउनु पर्ने तर अहिले सम्म फाईल तयार हुन नसक्दा रिलिज डेट सार्नुपरेको निर्देशक खनालले फिल्मीखबरलाई जानकारी गराए । उनले भने- 'पहिलो पटक नयाँ प्रबिधिमा काम गर्दा समस्या आउनु स्वाभाविक हो । अहिले फाईलमा केहि समस्या देखिएको छ त्यसैले समयमा रिलिज गर्न नसकिएला भन्ने डरले सारेको हुँ ।' फिल्म भिजिलान्ते सरेपछि चैत्र ९ मा रिलिज हुने फिल्म मञ्जरीको भाग्य खुलेको छ ।
समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किएको यो फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । फिल्मको एउटा सानो सिन र केहि संवादमा आपत्ति जनाउँदै सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको निर्देशक बताउँछन् । शान बस्न्यातले तयार पारेको स्क्रिप्टमा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन् ।
अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत रहेको छ । भिजिलान्ते पछिल्लो समयको पर्खाईको फिल्मको लिस्टमा परेको छ । नयाँ प्रबिधिमा बनेकाले पनि दर्शक तथा फिल्मकर्मी यो फिल्म हेर्न आतुर देखिएका छन् ।

