शायद भन्ने फिल्ममा मुख्य अभिनेताको रुपमा प्रस्तुत भएपछि निर्देशक नारायण पुरीपुत्र संयम पुरीको चर्चा एकाएक बढ्यो । त्यो बेला उनको प्रतिभाको सबैले खुलेर प्रशंसा गरेका थिए । बिचमा संयम पुरीलाई लिएर फिल्म बनाउने निर्माताहरुको संख्या पनि बाक्लै भयो । तर, अचम्म संयमले अभिनयको हिसाबले अहिलेसम्म शायद पछि कुनै फिल्म पनि हात पारेको अवस्था छैन ।
आफ्नै डेब्यु गराउने निर्माता निर्देशकहरुले पनि शायद भन्दा अर्को प्रोजेक्टमा उनलाई दोहोराएनन् । शायद सानो संयमलाई देखेर निर्माता निर्देशकले पत्यानन् होला ? ‘होईन होईन, त्यस्तो त पटक्कै होईन मलाई शायददेखि अहिलेसम्म आउँदा धेरै जनाले फिल्मको लागी अफर गर्नुभएकै हो,' पोखरामा कलाकार विल्सन विक्रम राईको साथमा भेटिएका पुरीले भने– ‘तर मैले फिल्मको स्क्रिप्ट मन छुने खालको नभएका कारण गरिन ।’
अहिलेसम्म ६ वटा फिल्मको स्क्रिप्ट मन नपरेकै कारण निर्मातालाई फिर्ता गरिसकेको उनी बताउँछन् । उनले यो बिचमा फिल्म र डकुमेन्ट्री मेकिङमा विशेष ध्यान दिएको बताए । ‘आर्मीको विषयमा एउटा छोटो फिल्म म आफैले बनाएँ,' उनले भने– ‘अहिले अभिनय भन्दा पनि मेकिङतर्फ आकर्षित भैरहेको छु ।’ मेकिङ र अभिनय दुवैलाई सहयोग होस् भनेर उनी हाल काठमाण्डौका विगन एण्ड लेईग कलेजमा मिडिया सम्बन्धि नै अध्ययन गरिरहेका छन् ।

