Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.86/5.00)
Text size:-
+
-

सिसा नभएको चस्मा किन लगाउँछन् विल्सन ?

रेम बिक, पोखरा, 2013/03/10

कसैले सिसा नभएको चश्मा लगाएर हिँड्ला ? अझै त्यो पनि एउटा सेलिब्रिटीले । संभव देखिन्न । कुन ब्राण्डको चश्मा र कति महँगो चश्मा भन्नेहरुका भीडमा चश्मा लाउने मामलामा कलाकार विल्सनविक्रम राई केहि भिन्दै छन् । सामान्यतया व्यक्तिगत कामका लागी अनौपचारिक जमघटमा राम्रै चश्मा लाउने राई औपचारिक कार्यक्रमहरुमा झन् सिसा नभएको चश्मा लाउँछन् । र, ढल्कीढल्की हिँड्छन् । यसरी हिँड्न एउटा सामान्य व्यक्ति त लजाउँछ भने विल्शन विक्रमले कसरी आफ्नो लाज पचाउन सके होलान् ?



‘लाखे हौ, देशमा संविधान छैन अनि देश चलिरा’छ, धारामा पानी छैन टुटीमात्रै छ त्यैपनि चलेकै छ, विजुलीको खम्बा छ तर पनि चलेकै छ,’ छुस्स छुस्स देखिएका पातलो दार्हीक मुसार्दै अहिलेका चल्तीका यी कलाकार भन्दै थिए–‘जाबो मैले सिसा नभएको चश्मा लगाउँदैमा किन चल्दैन ?’ देशको अहिलेको स्थिती पनि सिसा नभएको चश्माको जस्तै छ है भन्ने कुरा सबैलाई बुझाउनका लागी आफुले औपचारिक कार्यक्रमहरुमा सिसारहित चश्मा लगाएर हिँड्ने गरेको उनले सुनाए । ‘संविधान बनेको दिन मेरा चश्मामा म सिसा हाल्छु ।’ केहि व्यङ्ग मिश्रित लवजमा उनले भने–‘तर यसपाली त्यो दिन आउला जस्तो ला’छैन, आँखामा सिधै धुलो छिरिरहने नै भो ।’



पछिल्लो समय राई अभिनित फिल्म रिदमको व्यापारिक अवस्था बुझ्न र दर्शकसंगै बसेर फिल्म हेर्नका लागी उनी पोखरा आएका हुन् । उनले फिल्म रिदममा पनि यहि सिसा नभएको चस्मा प्रयोग गरेका छन् । शिवरात्रीकै दिन पोखरामा हुने एउटा स्टेज कार्यक्रममा पनि उनले आफ्नो प्रस्तुती राखे । अहिले उनी देशभित्रैका विभिन्न स्थानमा हुने साँस्कृतिक कार्यक्रम र मेलामहोत्सवमा व्यस्त रहेको समेत सुनाए । सोमबार दुबहीमा कार्यक्रम भएकोले रातारात उनी पोखराबाट हिँडेका थिए ।



स्टेज, फिल्मसंगै मेरी बास्सैमा समेत व्यस्त रहेका राईले अब चाँडै फिल्म निर्माणमा पनि हात हाल्ने योजना सुनाए । अबको दुई महिनामा फिल्म सुटिङमा जाने उनले जानकारी दिए । आफु चर्चित भएको पात्र ‘तक्मे बुढा’कै विषयमा फिल्म हुने उनले बताए । फिल्ममा केहि एनआरएनहरुको समेत लगानी हुनेछ । शुसन प्रजापतिले खिच्ने लगभग पक्कापक्की भएको फिल्मको पुरै सुटिङ यूकेमा हुने उनले जानकारी दिए । फिल्मको नाम ‘तक्मे बुढो लस्ट ईन लन्डन’ राखिएको उनले जनाए ।



फिल्मको लागी चैतको १५ गते यूके प्रस्थान गर्ने विल्सन त्यहाँबाट स्टेज शोका लागी क्यानडा, मलेशिया र अन्य यूरोपियन देशहरुमा जाने कार्यक्रम समेत रहेको छ । उनी त्यहाँ दुई महिनासम्म रहनेछन् ।