झापाको लक्ष्मीपुर स्थित श्री हिमाली निम्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा निल डेभिड्स हेयर सलुन तथा एकेडेमीले शनिबार विद्यालय प्रांगणमा निल डेभिड्स इन्डो नेपाल हेयर स्टाइलिंग कम्पिटीशनका साथ भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । निलका हजुरबुवा बाजवर्ण कटुवालले दान गरेको सो विद्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतिथी नायक श्रीकृष्ण श्रेष्ठ र विशेष अतिथी नायिका श्वेता खड्काले शुभारम्भ गरेका थिए।

कार्यक्रममा नायक श्रेष्ठले आफुद्धारा निर्मीत पहिलो चलचित्र कहां भेटिएलाबाट फिल्मका लागि हेयर स्टाइल परिवर्तन गर्न थालेको तथा पहिलो पटक हेयर स्टाइलिस्ट कटुवालद्धारा स्टाइल परिवर्तन गरेको स्मरण गर्दै उनको कलाको प्रशंषा गरे। नायिका खड्काले पनि आफ्नो पहिलो फिल्मबाटै कटुवालबाट हेयर स्टाइल् गरेको बताइन्। निलले भने हेयर स्टाइलको क्षेत्रमा काम गरेर लक्ष्मीपुरको नाम देश र विदेशमा समेत राख्ने प्रयास गरिरहेको बताए। उनका पीता कृष्ण बहादुर कटुवालले छोरा विदेशमा पढ्न गएर फर्कंदा डक्टर इन्जिनियर बनेर आउला भन्ने आशा गरेको तर हेयर स्टाइलिस्ट बनेर आउंदा शुरुमा आश्चार्य लागे पनि पछि नाम कमाउंदै जाँदा र हेयर स्टाइलको क्षेत्रमा क्रान्ति ल्याउंदा गर्व लागेको बताए।

पत्रकारद्धय विदुर गिरी र कृष्ण भट्राई तथा हास्य अभिनेता एवं गायक आरपी भट्राईको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानिय लक्ष्मीपुर युवा क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। ती कलाकारले नायक श्रीकृष्णको फिल्म आफ्नो मान्छे र कहां भेटिएलाका गीतमा नृत्य गर्दा निलको अनुरोधमा श्रीकृष्ण र श्वेताले उनीहरुसंगै नृत्य गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। त्यसै गरी हास्य अभिनेता तथा गायक आरपी भट्टराईले आफ्ना हास्य तथा मेलोडी गीत प्रस्तुत गरेर दर्शक उफारेका थिए भने भारतिय टेलिभिजन च्यानल जीटीभीको सारेगमको उत्कृष्ट सूचिसम्म पुगेका नेपाली मूलका गायक कर्मा शेर्पाले पनि हिन्दी तथा नेपाली गीत गाएर दर्शकको ध्यान आफू तर्फ खिचेका थिए।

विद्यालयको स्वर्ण महोत्सवको पहिलो प्रस्तुति अन्र्तगको कार्यक्रमका अवसरमा निलका पीता कृष्णबहादुर कटुवालले सो विद्यालयका प्रधान अध्यापक केशवप्रसाद ओझालाई एक थान कम्प्युटर प्रदान गरेका थिए। सोही अवसरमा धरानका पत्रकार गोपाल दाहाललाई ५ हजार र पूर्वाञ्चलका पत्रकार तुलसी निरौलालाई १५ शय रूपियाँ सहित सम्मान गरिएको थियो भने निल डेभिड्स हेयर सलुनका उत्कृष्ट हेयर डिजाइनरद्धय बि जोन र सुनिता राईलाई जनही २५ शय रूपियाँ सहित पुरस्कार प्रदान गरिएको थियो।
हेयर कप्टिशिनमा निलको स्वदेश र विदेशमा रहेका विभिन्न हेयर एकेडेमीका ६० भन्दा बढी विद्यार्थीले स्पर्धा गरेका थिए। कम्पिटीशनमा दार्जलिंगकी पुनम शर्मा प्रथम, विर्तामोडकी मुना पाख्रिन द्धितीय, सिलगुढीकी रेश्मा थापा तृतिय र दमककी मेरिना राई चतुर्थ भएका थिए। विजयीहरुलाई आफ्नो सलुन र एकेडेमीमा रोजगारको व्यबस्था गर्ने निलले कार्यक्रममा जानकारी गराए।

