राम्रो कथाबस्तु र उत्कृष्ट प्रस्तुतीकरण सहित फिल्म निर्माण भएमा नेपाली फिल्म हेर्न दर्शक हल सम्म पुग्छन् भन्ने कुरालाई पुन: एक पटक फिल्म रिदमले प्रमाणित गरेको छ । हिजो शुक्रबारबाट देशभरका हल मार्फत रिलिजमा आएको रिदमलाई दर्शकले त मन पराए नै फिल्मले कलेक्सन समेत उत्साहजनक गरेको छ। देशभरका विभिन्न स्टेसनसंगै पुर्वका हलमा समेत रिदमले दर्शकको उत्साहप्रद साथ पाएको छ ।
रिदम पुर्वका झन्डै एक दर्जन हल मार्फत रिलिजमा आएको छ । हिन्दी फिल्मको प्रभाव राम्रो रहने बिराटनगर, दुहबी, झुम्का लगायतका स्टेसनमा समेत फिल्मले राम्रो दर्शकको चाप पाएको फिल्मका पुर्वान्चल वितरक चैतन्य बरालले जानकारी गराए । त्यस्तै दमक, धरान, बिर्तामोड, पथरी, बेलबारी लगायतका नेपाली फिल्म चल्ने स्टेसनमा समेत धेरै पछि नेपाली फिल्मले उत्साहजनक कलेक्सन गरेको उनले जनाए ।
फिल्म प्रदर्शन भैरहेको धरानको गणेश टाकिजमा फिल्म हेर्न आएका अधिकांश दर्शकले फिल्म मनपरेको प्रतिक्रिया दिए । त्यसो त फिल्म हेरिसके पछि निस्केका धेरै महिला दर्शकको आँखा रसाएको प्रस्ट देखिन्थ्यो । इटहरीबाट फिल्म हेर्न आएका चन्द्र लिम्बुले फिल्मले उठाएको राष्ट्रियताको बिषय मनपरेको प्रतिक्रिया दिए । त्यस्तै फिल्मको गीत मनपरेर फिल्म हेर्न पुगेका धरान १३ का राजन बिकले गीत संगै फिल्म पनि उत्कृष्ट बनेको बताए । फिल्मका नायक जीवन लुइँटेलको फ्यान रहेको बताउदै फिल्म हेर्न आएकी रिना राई आफु फिल्म हेरेर भाबुक भएको बताइन् । अर्का चर्चित कलाकार विल्सन बिक्रम राई र बाल कलाकार अनुभव रेग्मीको अभिनयको पनि दर्शकले तारिफ गरेका थिए ।
यो हप्ता विभिन्न बिदा परेको हुनाले पनि फिल्मको व्यापारमा अझ फाइदा हुने भएको छ । त्यस्तै फिल्मको माउथ पब्लिसिटी समेत राम्रो रहेकोले फिल्मले आउने दिनमा अझै दर्शक तान्ने देखिएको छ । बिकाश आचार्यले लेखन एवं निर्देशन गरेको फिल्ममा जीवन लुइँटेल, निर शाह, विल्सन बिक्रम राई, श्वेता भट्टराई, निष्मा घिमिरे, सोहित मानन्धर र अनुभव रेग्मीको अभिनय रहेको छ । फिल्मलाई वान टाईम सिनेमाको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।

