Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्मीखबर प्रभाव : अविश्वासको प्रस्ताव आउने भएपछि राजिनामा दिए पौडेलले

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/09

अविश्वासको प्रस्ताव आउने तयारी सम्बन्धी खबर फिल्मीखबरले एक्सक्लुसिभ रुपमा सार्वजनिक गरेको पर्सी पल्टै निर्देशक समाजका अध्यक्ष विमल पौडेलले राजिनामा दिएका छन् ।
 

पौडेलले समाजलाई विवादको घेरोमा थप राख्न आफू नचाहाने भन्दै हिजो राजिनामा दिएको बताएका छन् । उनी गत बैशाख १७ गते निर्वाचित भएका थिए । उनले हिजो साँझ अध्यक्षको पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामा पत्र दर्ता भईसकेको छ । अविश्वासको मतबाट फ्याकिने लागेपछि उनले दिएको राजिनामाले आउन लागेको अविश्वास प्रस्ताव स्वतः रोकिएको छ ।



आउदो मंगलबार भित्र उनी विरुद्धको अविश्वासको प्रस्ताव ल्याउन ३१ बढी निर्देशकले हस्ताक्षर गरिसकेका थिए । तर अचानक उनले पारिवारिक कारण जनाउदै र समाजलाई विवादमा थप राख्नु हुन्न भन्ने तर्क गर्दै राजिनामा दिएका हुन् । "मेरो बुवाको निधन भर्खरै भएकाले परिवारमा म एक्लो छोरो हुँ त्यसकारण अन्य जिम्मेबारी पनि थपिएकाले मैले आउने साधारणसभाबाट पद छाड्ने तयारी पनि गरिरहेको थिए  तर विवाद बढेपछि हिजो राजिनामा दिएको हुँ,'  पौडेलले भनेका छन् ।



पौडेलले राजिनामा दिए लगत्तै निर्देशक समाजमा नयाँ उतारचढाव आएको छ । निर्देशक समाजमा विशेष परिस्थिती सृजना भएको खण्डमा विद्यानत १५ दिन भित्र विशेष साधारण सभा बोलाउनु पर्ने हुन्छ तसर्थ पौडेलको राजिनामा १५ दिन भित्र हुने विशेष साधारणसभाले स्वीकृत गरी नयाँ कार्यसमिति चयन गरिनु पर्ने प्रावधान छ । तर साधारणसभा सम्मका लागि प्रथम उपाध्यक्षले कार्यभार  सम्हाल्न सक्ने बाटो पनि छ ।  



नोट : निर्देशक समाज र निर्माता संघ दुवैमा अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव आउने खबर थाहा पाएपछि निर्देशक समाजका अध्यक्षले राजिनामा गरेका छन् । अब हेर्नुछ निर्माता संघका अध्यक्षले के गर्छन् ? निर्माता संघमा यसै साता अविश्वासको प्रस्ताव दर्ता गराउने प्रक्रिया केही निर्माताहरुले अगाडी बढाईरहेका छन् ।