नेपाली फिल्म हलमा डकुमेन्ट्री फिल्म अपवादको रूपमा रिलिज गर्ने चलन रहेको छ । कमै मात्र फिल्म मेकरले डकुमेन्ट्री तथा सर्ट फिल्मलाई फिल्म हलमा सार्वजनिक प्रदर्शन गर्ने गरेको पाईन्छ । अपवादकै रूपमा एउटा नेपाली डकुमेन्ट्री पनि नेपालका केहि हलहरूमा रिलिज हुने भएको छ ।
विभिन्न फिल्म महोत्सवमा अवार्ड जित्न सफल नेपाली डकुमेन्ट्री फिल्म ‘हु विल बि अ गोर्खा’ (को बन्छ गोर्खा ) लाई आगामी २०६९ चैत २ गतेदेखि देशका केहि हल मार्फत सार्वजनिक प्रदर्शन गरिने भएको छ । पोखराको ब्रिटिस गोर्खा क्याम्पमा हुने छनोट प्रक्रिया माथि आधारित रहेर निर्माण गरिएको यस डकुमेन्ट्रीलाई केसाङ छेतेनले निर्देशन गरेका हुन् ।
अवलोकनमा आधारित यस डकुमेन्ट्रीलाई शुन्यता फिल्म्स प्रोडक्सन र गोङ्गजु फिल्म्सले निर्माण गरेको हो । यसको पोस्टप्रोडक्सन नर्वेमा गरिएको निर्देशन छेतेनले शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । डकुमेन्ट्रीलाई सामान्यता गम्भीर र पट्यारलाग्दो फिल्मको रूपमा हेर्ने चनल छ तर निर्देशक छेतेन भने आफ्नो फिल्म हेर्दा दर्शकलाई पट्यार नलाग्ने दाबी गर्छन् ।

पछिल्लो समयमा दर्शकले डकुमेन्ट्री तर्फ आफ्नो ध्यान बढाएकाले पनि यसलाई हलमा रिलिज गर्न लागिएको निर्देशकको भनाई छ । यो फिल्म राजधानीको क्यूएफएक्स, एफक्यूब तथा पोखरा, बुटवल, धरान र दमकमा रिलिज हुने भएको छ । सन्डान्स इन्स्टिच्युट, इन्टरनेसनल फिल्म फेस्टिभल अफ अम्स्टरडम र बुसान इन्टरनेसनल फिल्म फेस्टिभलबाट आर्थिक सहयोग पाएको यस फिल्मलाई डिजिटल सिनेमा नेपालले वितरण गर्दैछ ।

