'सिजन्स' ब्याण्ड मार्फत पप संगीतमा गायन र गिटारिस्टको नामले परिचित सुजिल कर्माचार्य अहिले फिल्म क्षेत्रमा संगीतकारको रूपमा परिचित हुँदैछन् । ०५२ सालमा व्याण्ड स्थापना गरेर 'ख्याल ख्यालैमा', 'सिजन्स' र 'सात तियाँ एक्काईस' एल्बम निकालेका सुजिलले पछि आफैले सोलो एल्बम 'भुमो' निकाले जसले निकै चर्चा पनि पायो । अहिले उनी यो क्षेत्रलाई नै छोडेर फिल्मको संगीत दुनियाँमा लागेका छन् ।
बिशेषत: सुजिल फिल्म आफ्नो प्यासन रहेको बताउँछन् त्यसैले पनि उनले पप गायनलाई छोडेर फिल्मको संगीत दुनियाँमा प्रवेश गरेको बताए । थुप्रै फिल्मको गीतमा संगीत दिईसकेका सुजिल पार्श्व संगीत अर्थात व्याकग्राउण्ड स्कोरलाई आफ्नो मुख्य पेशा बनाउने बताउँछन् । मेरो एउटा साथी छ फिल्मबाट व्याकग्राउण्ड स्कोर पेशा अंगालेका सुजिलले हालसम्म एक दिन एक रात, मेरो लभ स्टोरी, लुट, स्वर, लेटर, धन्दा, भिजिलान्ते,लगायतका एक दर्जन फिल्ममा पार्श्व संगीत भरेका छन् । उनले भर्खरै मात्र नेपालको पहिलो थ्रीडी फिल्म भिजिलान्तेमा पार्श्व संगीतको काम गरे भने अहिले नोटबुक फिल्मका लागि उनले आफ्नो संगीतको जादू चलाईरहेका छन् ।
एक दिनमा कम्तिमा पनि एउटा बिदेशी फिल्म हेर्ने गरेको बताउने सुजिलले तिनै फिल्मको संगीतबाट प्रभावित हुँदै नेपाली फिल्मलाई सुहाउँदो संगीतको सिर्जना गर्ने गरेको बताए । 'कुनै पनि क्रियशनका लागि रिफ्रेन्स चाहिन्छ । त्यहि रिफ्रेन्सका लागि म दिनमा एउटा बिदेशी फिल्म हेर्ने गर्छु,' नोटबुक फिल्मको व्याकग्राउन्ड म्युजिकको कामलाई रोक्दै फिल्मीखबरसँग गफिंदै सुजिलले भने- 'म कपि गर्दिन तर प्रभावित हुन्छु । म बिना रिसर्च कुनै पनि ट्युनिङलाई हावाको भरमा प्रयोग गर्दिन ।'
'फिल्मको प्यासनले गर्दा पनि म यो क्षेत्रमा आएको हुँ,' सुजिलले भने- 'जुन कुरामा प्यासन हुन्छ त्यसमा बढि सफलता हात पारिन्छ भन्ने लागेर नै मैले पप गायनलाई छोडेर फिल्मलाई रोजें ।' यस्तै उनले नेपाली फिल्मको व्याकग्राउण्ड म्युजिक निकै कमजोर हुने गरेको बताए । उनी भन्छन्, 'सुधार त आएको छ तर अझै पनि केहि नपुगेको जस्तो फिल भईरहन्छ ।' सुजिल आफ्नो कामलाई कमजोर हुन नदिन एक पटकमा एउटा मात्र फिल्मको काम गर्ने समेत बताउँछन् ।
एक दर्जन फिल्मको काम गर्दा सबैभन्दा बढि सन्तुष्टी धन्दा फिल्मको व्याकग्राउण्ड म्युजिकले दिएको सुजिलको भनाई छ । 'धेरैले यो फिल्ममा गरेको कामको प्रशंशा गर्नुभयो,' सुजिलले भने, 'यो फिल्म मेरो कामको लिस्टको एक नम्बरमा पर्छ ।' यस्तै गत बर्षको सुपरहिट फिल्म लुटमा पनि काम राम्रै गरेको तर त्यसको कथा र प्रस्तुतीले आफ्नो कामलाई ओझेल पारेको सुजिलको भनाई छ । उनले भने- 'मैले काम त राम्रो गरेको हुँ तर फिल्मको प्रस्तुतीले मेरो रचनालाई डोमिनेशन गर्यो ।'
अहिले उनले काम गरिरहेको फिल्म नोटबुकलाई पनि आफ्नो नोटबुकको हिटलिस्टमा राख्न निकै मेहनत गरिरहेको बताए । उनले भने, 'फिल्मको मेकिङ निकै राम्रो छ त्यसैले मैले पनि राम्रो काम गर्ने कोशिश गरेको छु ।' यता चैत्र ९ गते रिलिज हुन लागेको थ्रीडी फिल्म भिजिलान्तेको काम पनि निकै राम्रो भएको उनको भनाई छ । फिल्म सस्पेन्स थ्रील भएकाले ब्याकग्राउण्ड म्युजिकमा पश्चिमेली संगीतको फ्लेभर दिएको उनले बताए । उनले भने- 'भिजिलान्तेको ब्याकग्राउण्ड म्युजिक मेरो लागि एउटा प्रयोग पनि हो ।' यसपछि उनी कर्कश र ढुवानी फिल्मको काममा व्यस्त हुने भएका छन् ।
फिल्मको कमजोर प्रस्तुती र कलाकारको कमजोर अभिनयलाई ब्याकग्राउण्ड म्युजिकले राम्रो देखाउन ठूलो मद्दत गर्ने सुजिलको धारणा छ । सुजिल भन्छन्- 'वास्तवमा भन्ने नै हो भने ब्याकग्राउण्ड म्युजिकले कलाकारको कमजोर अभिनयलाई लुकाउँछ ।' फिल्मको अभिन्न अंगको रूपमा ब्याकग्राउण्ड म्युजिक रहे पनि दर्शकले मात्र हैन क्रिटिक्सले पनि यस बिषयमा खासै ध्यान नपुर्याउँदा सुजिल अलि चित्त दुखाउँछन् ।
मेहनत गरे अनुसारको पारिश्रमिक लिनुपर्छ भन्ने मान्यताका सुजिल महंगा ब्याकग्राउण्ड स्क्रोररका रूपमा चिनिन्छन् । 'म काममा पनि कम्प्रमाईज गर्दिन र पारिश्रमिक पनि मेहनत अनुसारकै लिन्छु, 'सुजिल भन्छन्- 'कम बजेट छ भन्दै कोही आउनु हुन्छ भने म काम गर्न सक्दिन ।' चलिआएको रकम भन्दा केहि बढि लिने सुजिलले आफ्नो कामबाट निर्माता निराश नहुने भने बताउँछन् ।
तस्विर : ईनशा डट कम

