भोली शुक्रबारबाट राजधानीमा दुई नयाँ फिल्म रिदम र पल्टन प्रदर्शनमा आउँदैछन् भने राजधानी बाहिर यि दुई फिल्मको साथमा अर्को नयाँ फिल्म वरदान रिलिज हुनेछ । देशभर तीन वटै फिल्म एकसाथ प्रदर्शनमा आउने तयारी गरिरहँदा वरदान निर्माण युनिट भने राजधानीमा दुई फिल्मसँग जुध्न चाहेन । चैत्र २ गते सिङ्गल रिलिज पाउने भएपछि वरदान निर्माण युनिटले राजधानी रिलिजलाई एक साता पोष्टपोण्ड गरेको हो ।
राष्ट्रियताको साथमा प्रेमकथालाई मुख्य बिषय बनाईएको फिल्म 'रिदम' लाई विकास आचार्यले लेखन तथा निर्देशन गरेका हुन् । यो फिल्ममा जीवन लुईटेल, नीर शाह, विल्सन विक्रम राई, स्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । फिल्मलाई वान टाईम सिनेमाको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् ।
संगीत पक्षले बजार तताईरहेको 'रिदम' फिल्मका संगीतकार बसन्त सापकोटा हुन् । शम्भु सापकोटाको छायाँकन रहेको यो फिल्ममा करियोग्राफी कविराज गहतराज, द्धन्द रोशन श्रेष्ठ र गीत कृष्णहरी बरालको रहेको छ ।
यता पारिवारिक प्रेमकथा बोकेको फिल्म 'वरदान' लाई शोभित बस्नेतको निर्देशनमा कविता श्रेष्ठ र अभिनेत्री रेजिना उप्रेतीले निर्माण गरेका हुन् । राजेश हमाल, करिष्मा मानन्धर, रेजिना उप्रेती, मुकेश ढकाल, अर्जुन कार्की, शोभित बस्नेत लगायतको अभिनय रहेको यो फिल्मको कथा ध्रुब लम्सालले लेखेका हुन् । फिल्ममा मनोहर सुनामको संगीत, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ ।
श्रेय मेकर इन्टरटेनमेन्टको ब्यानरमा बिक्रम शाहले निर्माण गरेको फिल्म 'पल्टन' लाई बासुदेब पोखरेलले निर्देशन गरेका हुन् । क्यू सिस्टमबाट रिलिज हुन लागेको यो फिल्ममा राजेश हमाल, अमृत लामा, तृप्ती नाडकर, सचिंता गुरूङ, कुशल थापा, करण क्रेजी, प्रतिक्षा प्रसाईंलगायतको अभिनय रहेको छ ।

