पछिल्लो समय रिलिज भएको फिल्म 'फेसबुक'ले सफलता नपाएसँगै अभिनेता सुवास थापाको पनि सोचे अनुरूपको चर्चा हुन सकेन । भलै उनको कामको सबैले प्रशंशा गरे तर उनले जति चर्चा पाउने सोचेका थिए त्यो पाउन सकेनन् । अब भने उनी 'भिजिलान्ते' बाट राम्रो चर्चा र सफलता पाउने आशमा छन् ।
नेपालकै पहिलो थ्रीडी फिल्म त्यमाथी पनि मुख्य भुमिकामा देखिएका सुवासले 'भिजिलान्ते' को रिलिज पर्खेको बताएका छन् । फिल्मीखबरको भेटमा उनले भने- 'यो फिल्म रिलिज नभएसम्म मलाई अरू प्रोजेक्ट गर्ने मन छैन ।' रिलिज भएका केहि फिल्मबाट सोचे अनुरूपको सफलता पाउन नसक्दा पनि उनले भिजिलान्तेको रिलिज पर्खेको बताएका हुन् । भिजिलान्ते रिलिज पश्चात पनि उनले करिब २ महिना फिल्म नगर्ने बताए ।
भिजिलान्ते रिलिज पश्चात पनि उनले करिब २ महिना फिल्म नगर्ने बताए ।' अबको दुई महिना म नाटकमा व्यस्त हुनेछु अनि मात्र म फिल्म गर्छु,' सुवासले भने- 'सबिना लेमनले निर्देशन गर्न लागेको 'गड अफ कर्नेज' को रिहल्सलमा अहिले झरना बज्राचार्य र कर्मसँगै म पनि व्यस्त छु ।' करिब दुई बर्ष पछि नेपालमा नाटक गर्न लागेको बताउँदै सुवासले अब आफैले लेखेको स्क्रिप्टमा काम गर्ने बताए । उनले भने- 'दुई वटा कथा लेखिरहेको छु । ति मध्ये पहिलो बैशाखमा सुटिङ हुनेछ भने अर्को भाद्र महिना तिर । अब पहिला म यो आफ्नै प्रोजेक्ट गर्छु होला ।'
अभिनयमा पोख्त मानिएका यि अभिनेताका किन किन, तोरी लाहुरे, सिक्स फिट लाईफ र सरी ल रिलिजको तयारीमा छन् भने आगमन फिल्मको केहि भाग सुटिङ हुन बाँकी छ । कोही मेरो, ब्रेकफेल र फेसबुक सुवासले अभिनय गरेको रिलिज फिल्म हुन् ।

