गत शुक्रबार देशभर एउटा मात्र फिल्म 'समय' रिलिज भयो । जे जस्तो भए पनि सिङ्गल रिलिजले निर्मातालाई फाईदै पुर्याएको छ । तर, आउँदो शुक्रबार भने चार नेपाली फिल्म एकसाथ रिलिज हुने तरखरमा छन् ।
क्यू सिस्टमबाट फिल्म पल्टन रिलिज हुँदैछ जसले राजधानीमा बिश्वज्योती, गंगा, गोपीकृष्ण, गुण, कलंकी, बाराही, पृथ्बी सहितका करिब एक दर्जन हल पाउने छ । यता दुई फिल्म रिदम र वरदान पनि राजधानीमा मुख्य-मुख्य ठूला हलमा लाग्ने भएको छ । करिब आठ महिना अगाडी नै बिशेष फिल्मका लागि निवेदन दिएर पनि नपाएको गुनासो पोखेकी वरदान निर्माता रेजिना उप्रेतीले आज र भोली सम्ममा जसरी भए पनि आफ्नो फिल्मलाई बिशेष फिल्मको कोटामा परेर राजधानीका ठूला मल्टिप्लेक्स सहित आधा दर्जन भन्दा बढि हलमा रिलिज गर्ने बताएकी छिन् ।
यता निर्देशक विकास आचार्यले भने क्यूबाट आएको फिल्म पल्टनसँग साझेदारी गर्दै हल बाँडेका छन् । निर्देशक आचार्यका अनुसार रिदम राजधानीको एफक्यूब, बिग मुभिज, गोपीकृष्ण, गुण, कलंकी, सिद्धार्थ, बाराही सहितका अन्य केहि हलमा रिलिज हुँदैछ । आफ्नो फिल्म बिशेष फिल्मको लिस्टमा परेर पनि राजधानीमा राम्रो राम्रो हल पाएको विकासको भनाई छ । यता पहिलो पटक निर्माता बनेकी नायिका रेजिनाले पनि आफ्नो फिल्मलाई बिशेष फिल्मको बनाउन कम्मर कसिरहेकी छिन् । उनी भन्छिन्- 'जसरी पनि मेरो फिल्म बिशेष फिल्ममा पर्नुपर्छ किनकी हामीले आठ महिना अगाडी नै बिशेष फिल्म पाउँ भनेर निवेदन दिएका थियौं ।'
.jpg)
यता यि तीन फिल्मसँगै अहिले सम्म सेन्सर हुन नसकेको फिल्म 'बधशाला' पनि आउने बताईएको छ । रक्षा मन्त्रालयले फिल्म प्रदर्शनमा रोक लगाएको यो फिल्म यहि शुक्रबार रिलिज हुने नहुने टुंगो छैन तर निर्माण युनिटले प्रचारप्रसार भने गरिरहेको छ । सेन्सर पास भईहालेको खण्डमा यो फिल्मले राजधानीका कुन-कुन हल पाउँछ भन्ने अन्यौल छ । किनकी अधिकांश हल पल्टन, रिदम र वरदानले बुक गरिसकेका छन् ।
फाल्गुन २५ गते नारी दिवस विदा, २७ गते महाशिवरात्री विदा र २९ गते ग्याल्पो ल्होसार विदा परेकाले पनि निर्माताहरू फाल्गुन २५ गते रिलिज गर्न हानथाप गरेका हुन् । राजधानी बाहिर पनि उल्लेखित फिल्महरूले हल बाँडेर चलाउने भएका छन् । यसरी एकै साता चार फिल्म रिलिज हुँदा क्षती समग्र उधोगलाई पर्ने निश्चित छ ।

