'पहिलो पटक चस्मा लगाएर हेर्ने नेपाली फिल्म' भन्दै प्रचारप्रसार गरिएको फिल्म 'भिजिलान्ते' को थ्रीडी चस्मा चाईनाबाट नेपाल आईपुगेको छ । निर्देशक दीपेन्द्र के. खनालले दिएको जानकारी अनुसार रू २० लाख खर्चिएर एक लाख चस्मा भित्र्याईएको छ ।
चैत्र ९ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो थ्रीडी फिल्मका लागि दीपेन्द्रले फिल्मको नाम अंकित थ्रीडी चस्मा ल्याएका छन् । उनका अनुसार यहि एक लाख चस्मा नेपालभरका हलमा वितरण गरिनेछ । 'इच्छा त अझै धेरै चस्मा ल्याएर सहज तरिकाले वितरण गर्ने थियो तर खर्च निकै हुने भएकाले यहि एक लाख चस्माले म्यानेज गर्ने तयारी गरेका छौं', दीपेन्द्रले भने ।
थ्रीडी जडान भएको हलले नै थ्रीडी फिल्म हेर्न पोलराइज्ड चस्मा व्यवस्था गर्ने भएकाले थ्रीडी जडान नभएको हलमा थ्रीडी फिल्म हेर्न रेड स्यान चस्मा मगाएको दीपेन्द्रको भनाई छ । राजधानीका केहि मल्टिप्लेक्स हलमा दर्शकले भिजिलान्तेलाई पोलराइज्ड चस्माको सहायताले हेर्नेछन् भने अन्य हलमा रेड स्यान चस्माको सहायताले हेरेर थ्रीडी फिल्मको मज्जा लुट्नेछन् । दीपेन्द्रका अनुसार सकेसम्म देशभरका हलमा दर्शकलाई थ्रीडीमा नै फिल्म देखाईने छ ।
समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किएको यो फिल्मले दर्शकमा विषयवस्तुको थ्रिलर सहित दृश्यात्मक रोमाञ्चकता दिने निर्देशक खनालको भनाई छ । शान बस्न्यातले तयार पारेको स्क्रिप्टमा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन् । अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत रहेको छ ।

