चितवनको सौराहामा गत बुधबार सम्पन्न नेपाल चलचित्र संघको साधारण सभामा उठेका विभिन्न मुद्दा र सवाल माथी छलफल गर्न चलचित्र संघ पूर्वाञ्चल शाखाले आउदो मंगलबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा संघको साधारण सभामा उठेका विभिन्न बिषय माथी पूर्वका हल संचालकको राय सुझाब लिने बताईएको छ ।
संघले अघि सरेका विभिन्न नियमवालीहरुमा पूर्वका सबै हल एकमत भए पनि अन्य केहि मुद्दामा बिशेष छलफल आवश्यक रहेको संघका पूर्वाञ्चल सचिव चैतन्य बरालले जानकारी गराए । बिशेषत: साधारण सभामा उठेको हल बर्गिकरणको मुद्दामा पूर्वका अधिकांश हल संचालकको बिरोध रहेको बुझिएको छ । हल बर्गिकरण गर्दा हलको पूर्वाधार अनुसार गर्नुपर्ने भएकोले र उच्च स्तरको बर्गिकरणमा पर्न हलले लाखौ रुपैया खर्च गर्नुपर्ने हुनाले सो बिषयमा मुख्य छलफल गरिने बुझिएको छ ।
त्यस्तै पूर्वका हलमा देखिने अन्य समस्यालाई समाधान गर्न सबै एकजुट रहेको बताउदै नेपाली फिल्मको वर्तमान बजारको अवस्था माथी पनि छलफल केन्द्रित हुने बरालले जानकारी गराए ।

