नेपालको दोस्रो ठुलो एवं औधोगिक सहरको रुपमा परिचित बिराटनगरमा केहि वर्ष अघि सम्म चार सिनेमा घर संचालनमा थिए । देशको अवस्था संगै केहि हल बन्द भए भने केहि हललाइ तोडेर अन्य ब्यापारिक केन्द्र बनिसकेको छ ।
बिराटनगरकै पुरानो हलको रुपमा रहेको हिमालयन टाकिज पनि कहिले बन्द त कहिले खुला भई संचालनमा आउने गरेको थियो । केहि महिना यता बन्द अवस्थामा रहेको सो हल आज शुक्रबारबाट फेरी संचालनमा आएको छ । सो हल बन्द हुँदा बिराटनगरवासीहरु फिल्म हेर्न भारतको जोगबनी नजिक रहेको अरुण सिनेमा जानु पर्ने बाध्यता रहेको थियो । गोपीकृष्ण मुभिज अन्तर्गतको क्युब सर्भर र नयाँ म्यानेजमेन्ट सहित संचालनमा आएको हल अब भने बन्द नभई नियमित संचालनमा आउने हल मेनेजर मल्लिकले बताए ।
पुर्वान्चल भरिमै एक मात्र एसि जडित र अत्याधुनिक सिट रहेको हलको रुपमा रहेको हिमालयनको साउण्ड र अन्य प्रविधिमा समेत थप सुधार गरेको मेनेजरले जानकारी गराए । बिराटनगरको मुटु महेन्द्र चोकमा अवस्थित हलमा आज रिलिज भएको हिन्दि फिल्म आई मि और में प्रदर्शन गरिएको छ । आउने दिनमा दुवै नेपाली र हिन्दि फिल्म प्रदर्शनमा ल्याइने बताईएको छ । हलको सिट संख्या ८०० रहेको छ ।

