Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा फेरी हलिउडको `धम्पुस`

रेम बिक, पोखरा, 2013/03/01

नेपालमा हलिउडका फिल्महरु सुटिङ नै नहुने होईन । जसरी फ्रेस लोकेशन भन्दै केहि नेपाली फिल्महरु विदेशमा सुटिङ गर्न जान्छन्, त्यसरी नै हलिउडका केहि राम्रा मेकर्सको फिल्महरु पनि नेपालमा सुटिङ हुने गरेका छन् । तर, जसरी नेपालीहरुले पुरै हल्लाखल्ला गरेर ‘हामी यस्तो गर्छौँ र उस्तो गर्छौँ’ भन्छन् त्यसका ठ्याक्कै विपरित विदेशबाट नेपालमा सुटिङको लागी आउने फिल्महरुले हल्ला गर्न रुचाउँदैनन् । तर करिब एक वर्ष अगाडी हलिउडको एउटा फिल्मको सुटिङ पोखरा र आसपासमै भयो र चर्चा पनि राम्रै पायो ।

त्यो फिल्मले त्यसरी चर्चा पाउनुको कारण थियो, हलिउड फिल्ममा नेपाली कलाकार । कलाकार पनि पोखराकै भएका कारण पोखरामा त्यो फिल्मको चर्चा अन्यत्र भन्दा अझै बढि नै भयो । फिल्म थियो, ‘हाईवे टु धम्पुस’ । नेपाली फिल्ममा राम्रै चर्चा पाईरहेका बेला नायक राजवल्लभ कोईरालाले अभिनय गरेको यो फिल्मको सुटिङ एक वर्षको अवधीमा पुनः पोखरामै आएर टुंगाईने भएको छ । ‘हामीले यहाँका धेरै दृश्यहरु अघिल्लो पटक आउँदा नै सुट गरिसकेका थियौँ,' हाईवे टु धम्पुस फिल्मका निर्देशक रिक म्याक फारल्याण्डले भने–‘पुन यहाँको सिन थपेर फिल्म पुरा गर्ने भनेका कारण हामी अहिले आएका हौँ ।’  अमेरिकी निर्माता जोन डी विलियम्सले फिल्म ‘हाईवे टु धम्पुस’ निर्माण गरेका हुन् ।

फिल्मको क्लाईमेक्स दृश्यको छायाँकनका लागी टोली हलिउडदेखि पोखरासम्म आएको हो । क्लाईमेक्सको दृश्यमा देशभक्त खनालले अभिनय गरिरहेका छन् । पोखरा, धम्पुस र काठमाण्डौमा क्लाईमेक्स दृश्यको छायाँकन हुने निर्देशक फारल्याण्डले जानकारी दिएका छन् । अन्नपुर्ण आधारशिविरको पदमार्गमा पर्ने पर्यटकिय स्थल धम्पुसको कथा फिल्ममा रहेको उनले बताएका छन् । फिल्मलाई २०१४ सम्ममा प्रदर्शनमा ल्याईने निर्माण टोलीको भनाई छ । विशेष गरि पोखरा र आसपासका क्षेत्रमा छायाँकन हुनुका साथै नेपाली कलाकारहरुको समेत अभिनय रहेको कारणले नेपालमा पनि यो फिल्मलाई विशेष रुपमा हेरिएको छ ।

 



धम्पुसलाई नै शिर्षक बनाएर छायाँकन गरिएको यस फिल्मको कथा पनि नेपाली समाज र अमेरिकी समाजमा हुने विभिन्न खाले सँस्कारहरुमा कस्तो भिन्नता छ त ? भन्ने विषयमा केन्द्रित रहेको निर्देशक बताउँछन् । यो फिल्ममा नेपाली फिल्मका नायक रहेका राजवल्लभ कोईरालाले एउटा पाईलटको भुमिका निर्वाह गरेका छन् । यसै फिल्मका लागी अमेरिका पुगेका कोईराला भने उतैबाट अष्ट्रेलिया पुगेर ‘ऋतु’ नामक फिल्ममा अभिनय गरेर पुनः अमेरिका फर्किसकेका छन् । उनी केहि समय पछि नेपाल फर्कने बुझ्नमा आएको छ । यद्यपी उनले हलिउडको अर्को फिल्ममा समेत अभिनय गरेको कुराले अहिले फिल्मि बजारमा चर्चा पाएको छ ।

फिल्ममा राजबल्लभ कोईरालाका अलावा अमेरिकी नायक गनर राईटले समेत अभिनय गरेका छन् । फिल्ममा बेलायतकी रिचेल हर्ड उड नायिका हुन् । ती बाहेक सुयशा राना, देशभक्त खनाल र बाल कलाकार सयुश गुरुङको अभिनय रहेको छ । गनरले यसअघि अमेरिकामा लभ, डेडस्पेश लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । रिचेलले यसअघि परफ्युम, पिटर फेम लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । फिल्ममा कास्कीको धम्पुस सहित सोलुखुम्बु बेलायत, अमेरिका र कुवेतमा केही दृश्य रहेका छन् । चलचित्रको ८५ प्रतिशत दृष्य नेपालकै रहेको निर्देशकले जानकारी दिए ।

तस्विर: सागरराज तिमिल्सिना