यसअघि भजनशिरोमणी भक्तराज आचार्यको जीवनीमा 'आचार्य' फिल्म निर्देशन गरेका प्रशान्त रसाईलिले निर्देशन गरेको अर्को फिल्म 'कथा' लाई सिक्किममा रिलिज गरिएको छ । बुधबार साँझ सिक्किमको ग्याङटोकमा रहेको बज्र हलमा फिल्मको बिशेष प्रदर्शन गरेको निर्देशक रसाईलिले फिल्मीखबरलाई जानकारी गराए ।
'फिल्मलाई सबैले मन पराईदिनु भयो,' निर्देशक रसाईलीले भने- 'यसले मलाई थप उत्साहित बनाएको छ ।' सिक्किममै सुटिङ गरिएको हुनाले पनि पहिलो प्रदर्शन स्थानिय ठाउँमा गरेको प्रशान्तको भनाई छ । नेपालमा भने यो फिल्मलाई मार्च २२ तारिख अर्थात चैत्र ९ गते राजधानीमा केहि मल्टिप्लेक्स हलमा मात्र रिलिज गर्ने प्रशान्तको भनाई छ । उनका अनुसार फिल्मलाई क्यूएफएक्स, बिग मुभिज तथा एफक्यूब हलमा रिलिज गरिनेछ । दर्शकले दिएको प्रतिक्रिया अनुसार अन्य स्थानमा पनि रिलिज गर्ने प्रशान्तले बताए ।
सौगात मल्ल र उषा रजकको रोमाञ्चक प्रेमकथालाई बुनिएको 'कथा' लाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । मुम्बई ईन्टरनेशनल फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ गरिएको यो फिल्मलाई ड्रिमस्ट्रिम इन्टरटेन्मेन्टको व्यानरमा राज गडाइलीले निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक रसाईलीले नै लेखेका हुन् ।

