दुई बर्षे कार्यकाल सकिन करिब १० महिना बाँकी रहँदा चलचित्र बिकास बोर्डका सदस्य रामा मण्डलाई सो पदबाट हटाईएको छ । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले आज उनलाई सो पदबाट हटाउदै आफ्नो पार्टीका केन्द्रीय सदस्य प्रमेश शाहलाई आगामी दुई बर्षका लागि बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् ।
मन्त्री बन्नु अघिसम्म राजकिशोरका स्वकीय सचिव रहेका ३९ बर्षीय प्रमेश रंगमञ्चका कलाकार रहेको बुझिएको छ जसले आउदो २६ गते रिलिज हुने बिकास आचार्यको फिल्म रिदममा डाक्टरको भूमिकामा पनि अभिनय गरेका छन् । उनले केही बर्ष पहिले लाहानमा घाईते भन्ने एक फिल्म पनि गरेको बुझिएको छ । प्रमेश साझा स्वास्थ्य सेवाका चेयरम्यान पनि हुन् ।
बोर्डमा सदस्यको रुपमा तीन जना नियुक्त हुने प्रचलन छ त्यस मध्ये चलचित्र निर्माता संघको सिफारिसमा एक सदस्यलाई पठाईने ब्यवस्था पछिल्लो बर्षदेखि सुरु भएको थियो । यध्यपी यो ब्यवस्था पूर्णरुमा बैधानिक भईसकेको छैन । यस्तै दुई सदस्य चाहि सञ्चारमन्त्रीको भिटो पावर लागेर नियुक्त हुने गर्दछन् ।
हाल बोर्डमा निलहरी काफ्ले तथा बिकास आचार्य सदस्यको रुपमा यथावत छन् जुन भिडमा प्रमेशको नियुक्ति आज भएको हो । यस्तै बोर्ड सदस्यको रुपमा नियुक्त भए लगत्तै फिल्मीखबरसंगको कुराकानीमा प्रमेशले सो पदमा रहुन्जेल सम्म मिसन बोकेर उत्कृष्ट काम गर्ने योजना आफूले बनाईसकेको बताएका छन् ।
'रामालाई सेन्सर बोर्डमा पठाईदैछ' : श्रोत
श्रोत अनुसार रामा मण्डल फ्याँकिएको यो प्रसङ्ग मन्त्रीको चाल रहेको बुझिएको छ । मधेसी मुलका ब्यक्तिहरुको मत संकलनका लागि उनले रामालाई बोर्डबाट हटाउदै आफ्नै पार्टीका केन्द्रीय सदस्यलाई सो पदमा नियुक्त गर्नु स्वत: मन्त्रीको चाल रहेको श्रोतको दाबी छ । यस्तै श्रोत अनुसार बिकास बोर्डबाट निकालिएका रामालाई केहि दिन भित्रै सेन्सर बोर्ड सदस्यको रुपमा तिनै मन्त्रीले नियुक्त गर्दैछन् जसबाट प्रष्टिनेछ आगामी बर्ष हुने निर्वाचनको रिजल्ट आफ्नो पोल्टोमा पार्ने दाउ सहित मन्त्रीले यसरी जाल बुनेका हुन् ।

