नेपाल चलचित्र संघको ४१ औं साधारणसभा तथा चलचित्रकर्मी स्मृति सम्मान समारोह २०६९ चितवनको सौराहामा आज सम्पन्न भएको छ । नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलको अध्यक्षता तथा भूमिसुधार तथा शान्ति पुर्ननिर्माण मन्त्रालयका मनानीय मन्त्री टोपबहादुर रायमामाझीको प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको हो ।
नवनियुक्त चलचित्र विकास बोर्ड अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु), उवासंघ सदस्य तथा अभिनेता अशोक शर्मा, निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, चलचित्र निर्देशक समाजका अध्यक्ष विमल पौडेल, प्राविधिक संघका अध्यक्ष मनोज केसी, नृत्यकार संघ अध्यक्ष दिनेश पाख्रिन लगायतका चलचित्रकर्मीहरुको उपस्थिति रहेको सो समारोहमा आठ विद्यामा चलचित्रकर्मी स्मृति सम्मानबाट फिल्मकर्मी तथा सञ्चारकर्मीलाई सम्मान समेत गरिएको छ ।

सम्मानित हुनेहरुमा विश्वज्योति गरिबनाथ सराफ प्रकाश थापा स्मृति निर्देशकको विद्यामा निर्देशक उज्ज्वल घिमिरे, दवारिका प्रसाद उदय शिवशंकर मानन्धर स्मृति अभिनेतामा कृष्ण मल्ल, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्रीतर्फ करिष्मा मानन्धर, भूवनेश्वर अमात्य नारायणगोपाल स्मृति संगीत सम्मानतर्फ गायक राजेशपायल राई, शेरबहादुर पोखरेल श्री विक्रम राणा स्मृति पत्रकार सम्मानको विद्यामा पत्रकार शान्तिप्रिय, हरिबहादुर श्रेष्ठ डायमण्ड शमशेर स्मृति लेखनतर्फ नयनराज पाण्डे सम्मानित भएका छन् । साथै क्वेष्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानतर्फ राजुविक्रम थापा र चन्द्रप्रसाद पराजुली गोपाल भुटानी स्मृति दन्द कलाकारमा एन.बि.महर्जन सम्मानित भएका छन् । सम्मानित चलचित्रकर्मीहरुलाई जनही एघार हजार एकसय ११ रुपैयाँ नगद सहित तामपत्रले सम्मान गरिएको हो । आउँदो वर्ष एउटा विद्यालाई थप गरेर ९ वटा विद्यामा चलचित्रकर्मीलाई सम्मानित गरिने पनि सो अवसरमा जानकारी गराइयो ।

औपचारिक कार्यक्रममा बोल्दै अध्यक्ष राजकुमार पोखरेलले गतवर्ष साधारणसभा गर्न नसकिएको र अहिलेसम्म संघले सोचे जस्तो खास काम गर्न नसकेको पनि स्वीकारे । ८० प्रतिशत भन्दा बढी नेपाली फिल्मले बजार ओगटेको र लुट, चपली हाइट, अपवाद र छड्के जस्ता फिल्मले विदेशी फिल्महरुलाई समेत बिस्थापित गरिसकेकोले नेपाली फिल्मी बजार खस्किएको भनेर आलोचना गर्नुपर्ने र आत्तिनु पर्ने अवस्था नरहेकोले नेपाली फिल्मलाई अगाडि बढाउन मिडियाहरुले अझ थप उर्जा दिनुपर्ने पोखरेलले बताए । सोही अवसरमा चलचित्र संघका महासचिव प्रदिप उदयले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
.jpg)
सम्भवत विकास बोर्ड अध्यक्ष भए पश्चात मोफसलमा पहिलोपटक औपचारिक कार्यक्रममा देखा परेका बोर्ड अध्यक्ष धर्मेन्द्रले भने अहिले नेपाली फिल्मको अवस्था नाजुक रहेको र यसलाई उकास्नका लागि सबैको सहयोगको खाँचो रहेकोले सबै फिल्मीकर्मीहरुलाई एक हुन आग्रह गरे । कोट, पाइन्ट र ढाका टोपीमा चिटिक्क परेका माननीय मन्त्री टोपबहादुर रायमाझीले चलचित्र जगतलाई समाजको प्रतिबिम्बको संज्ञा दिदै अधिकांश समय राजनीतिक विचारमा खर्च गरे । तथापि उनको प्रतिबद्धताले फिल्मीकर्मीहरुको मुहारमा खुशी छाएको छ । विकास बोर्ड मार्फत उनले सबै चलचित्रकर्मीलाई मिलेर अगाडि आएमा सरकारले कपनमा रहेको २२ रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरे ।

सो कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाली चलचित्रको गुणस्तर सुधार्नु पर्ने सिनेमा घरहरुको गुणस्तरीयतामा ध्यान दिनुपर्ने र विशेषगरी एकले अर्काको आलोचना गरिने प्रवृत्तिलाई निर्मूल गरेर एक भई अगाडि बढेमा नेपाली फिल्मले राम्रो व्यापार गर्नेमा आशावादी भएको प्रष्टाए । 'नेपाली फिल्मको खस्कदो बजारको क्रममा दर्शकको सोचाईमा परिवर्तन आएको हो दर्शकहरु घटेका होइनन् भन्दै फिल्म क्षेत्रलाई नाच्ने, गाउने र रमाइलो गर्ने क्षेत्रको रुपमा नलिईकन समाजको दर्पर्णको रुपमा हेरिनुपर्ने निर्माता संघका अध्यक्ष राजकुमार राईले बताए ।

निर्धारित समयभन्दा करीब २ घण्टा ढिलो गरि साँघुरो हलभित्र कार्यक्रम आयोजना गरिएको थियो । उपस्थितहरुले गर्मीको महशुस गर्दागर्दै अशोक शर्माले मन्तव्यको समयमा उपस्थित सबैलाई हँसाए । उनले माननीय मन्त्री टोपबहादुर रायमाझीलाई एक कुशल नायकको रुपमा संज्ञा दिएका थिए । त्यसैगरी नेपाली फिल्मको बजार खस्किएको छैन भनी दावी गर्दै दक्ष जनशक्ति उत्पादनमा सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।


