नायक निरज बराल र नायिका पूजना प्रधान (स्त्री) ले चिहानमा प्रेम गरिरहेका छन् । १० दिन देखि राजधानीमा छायाँकनरत फिल्म 'चिहान' मा उनीहरूको रोमान्सलाई बद्री कृष्ण श्रेष्ठले एक्सन कट भनिरहेका छन् ।
.jpg)
चिहान भन्ने बित्तिकै हामीले भूतप्रेतको कथा भन्ने बुझ्छौं तर यो फिल्मले भने मायाप्रेम, विश्वास र शंकाको चिहानलाई पारिवारिक कथाको रूपमा बोकेको छ । 'यो हृदय भित्रको चिहान हो,' निर्देशक श्रेष्ठले कथालाई प्रस्ट्याउँदै भने- 'जब मानिसमा शंकाको बादल मडारिन्छ अनि उसको परिवार र जीवन तहसनहस हुन्छ । यहि बिषयलाई सस्पेन्स रूपमा हामीले फिल्ममा देखाउन लागेका छौं ।'

सुनसरीमा नाटकको निर्देशन गर्दागर्दै बिसं २०४५ सालमा 'शंका' नामक भिडियो फिल्म निर्देशन गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका बद्री कृष्णले मेरी प्रियसी सहितका केहि भिडियो फिल्म निर्देशन गरे । त्यसपश्चात जागिरमा व्यस्त भएका उनले पुन: ०५८ सालमा ठूलो पर्दाको बाचा बन्धन नामक फिल्म निर्देशन गरेर हराए । 'यो क्षेत्रमा बाँच्न निकै गार्हो थियो त्यसैले बिचमा बिजनेश गरें र अहिले पुन: निर्देशनमा आएको छु,' बद्रीले भने, 'अब भने फिल्ममा निरन्तर नै लाग्छु ।'
.jpg)
रमेश थापा र बिधा श्रेष्ठले निर्माण शुरू गरेको चिहानको कथा निर्देशक बद्री कृष्णले नै लेखेका हुन् । फिल्ममा निरज र पूजनाको साथमा अनुपा कार्की, भवेश पराजुली, चन्दा दाहाल, बालकलाकार प्रनिष्णा केसी लगायतको अभिनय रहनेछ । रेखा पौडेलको संगीत रहने यो फिल्मलाई बिरेन्द्र शाहले खिचिरहेका छन् भने द्धन्दनिर्देशन अष्ट महर्जनले गरिरहेका छन् । यस्तै फिल्ममा कविराज गहतराजको नृत्यनिर्देशन रहने छ भने गीत निर्देशक र संगीतकारले लेखेका छन् ।

