बारम्बार केन्द्रीय कार्यसमिति सदस्यहरु हेरफेर भईरहेको चलचित्र निर्देशक समाजमा निश्चल बस्नेतलाई कार्यसमिति सदस्यको रुपमा तानिएको छ ।
आज बसेको समाजको कार्यसमितिको पूर्ण बैठकले महासचिव पदबाट दिनेश डिसीले दिएको राजिनामालाई पास गर्दै सो पदको जिम्मेवारी सचिव एम.एस अग्रजलाई दिईएको छ भने सचिवको जिम्मेबारी श्याम भट्टराईलाई दिईएको छ ।
बैठक पश्चात समाजले जारी गरेको प्रेस विज्ञप्तीमा सदस्य गोपालचन्द्र लामिछानेलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिईएको उल्लेख गरिएको छ भने आर.बी के शरद खत्री र नयाँ निर्देशक दीपा बस्नेतलाई पनि निश्चल जसरी मनोनित गरिदै कार्यसमिति सदस्य बनाईएको छ ।
निर्वाचन समयदेखि नै विवादको विभिन्न घेरमा परेका समाजका अध्यक्ष विमल पौडेलको यो कार्यकालमा जस्तो सदस्यहरु हेरफेर विगतका कार्यकालमा भएका थिएनन् जसकारण अहिले यो संस्थाप्रति विभिन्न प्रहार हुन थालेको छ ।

