चलचित्र विकास बोर्ड अन्तर्गत सञ्चालित चलचित्रकर्मी कल्याणकोषबाट चलचित्र निर्देशक प्रेमबहादुर लिम्बु (स्यार्वो) लाई उपचार खर्चका लागि आर्थिक सहयोग स्वरुप पचास हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
लामो समयदेखि फोक्सो र मृगौला सम्बन्धी रोगका कारण गम्भीर विरामी भई हाल पाटन अस्पतालमा उपचार गराइरहेका आदिवासी फिल्मका निर्देशक लिम्बुलाई बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु) तथा चलचित्रकर्मी कल्याण कोष सञ्चालक समितिकी संयोजक बसुन्धरा भुसालले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
पप्पु र भुषालले आईतवार अस्पतालमा नै पुगेर उक्त रकम प्रदान गरेका हुन् । दुई दिनसम्म आईसियुमा रहेका लिम्बुको स्वास्थ्यमा सामान्य सुधार देखिएको उनको उपचारमा खटिएका डाक्टरले जानकारी दिए । करिब तीन करोडको चलचित्रकर्मी कल्याणकोषले यसअघि स्वर्गीय कलाकारद्धय कलाकार गोपाल भुटानी र शान्ति मास्केको साथमा पवन मैनाली, जयनन्द चन्द ठाकुर, हरि प्रसाद रिमाललाई सहयोग गरिसकेको छ ।

