भोली शुक्रबारबाट दुई फिल्म 'छड्के' र 'भुल्नै सकिन' प्रदर्शनमा आउने भएका छन् । यि मध्ये छड्के फ्रेस फिल्मको रूपमा देशभर प्रदर्शनमा आउने छ भने भुल्नै सकिन राजधानी बाहिर रिलिज भईसकेकोले राजधानीका हलमा मात्र क्यू सिस्टमबाट रिलिज हुनेछ ।
लुट जस्तो सुपरहिट फिल्म निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको छड्केलाई लुटकै सहायक निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् । ग्याङस्टार फिल्म छड्केमा सौगात मल्ल, रुविन तामाङ, दयाह्याङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनिल पोखरेल, विपिन कार्की लगायतका कलाकाहरुको अभिनय हेर्न सकिनेछ ।
निर्देशक श्रेष्ठकै कथा रहेको यो फिल्मको छायाँकन संजय लामाले गरेका हुन् भने संगीत नाईट ब्याण्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । यस्तै फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन हेर्न सकिनेछ ।
यस्तै चिरञ्जिवी बस्नेतको निर्माणमा दिपक श्रेष्ठले निर्देशन गरेको भुल्नै सकिन फर्मुला श्रेणीको फिल्म हो । यसमा बिराज भट्ट, जेनिशा केसी, र धिरेन शाक्यको मुख्य भुमिका रहेको छ । सिबि फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ ।

