लामो समयको थिएटरको अभिनय तथा निर्देशनको अनुभव पश्चात अनुप बरालल फिल्म निर्देशनमा उत्रेका छन् । उनले आज बिहिबारबाट फिल्म 'फिटकिरी' को निर्देशन शुरू गरेका छन् ।
३० दिनको सुटिङ सेड्यूल निकालेर अनुपले आज ललितपुरको महानगरिय प्रहरी परिसरमा पहिलो पटक एक्सन कट भन्दै छन् । 'पहिलो दिन भएकाले हेभी काम नगरी सामान्य सिनहरू खिच्दैछौं', अनुपले सुटिङ स्पटबाटै भने, 'आज चलेका कलाकारहरूसँग एक्सन कट भने हुनेछैन ।' काठमाण्डौ आसपासमै फिल्मको सम्पूर्ण सुटिङ सक्ने लक्ष्य लिएको अनुपले बताए ।
रोड प्ले तथा थिएटर पर्फमेन्स एवं डाईरेक्सनको २२ बर्षे अनुभव संगाल्दै फिल्म निर्देशनमा हात हालेको बताउँदै अनुपले आफ्नो यो अनुभवलाई भरपूर सदुपयोग गर्ने बताए । ३ सय बढी सडक नाटक र ४८ वटा ठूला नाटक निर्देशन गरि अनुवभ बटुलेका बरालले भने- 'मैले जे जति जानें सिकें त्यसलाई आकर्षक ढंगले पर्दामा उतार्ने कोशिश गर्नेछु ।' ईन्भेस्टिकेशन थ्रील जनरको यो फिल्ममा उनका चेला सौगात मल्ल (हाकु काले) र दीया मास्के प्रमुख भूमिकामा छन् ।
अनुभवी सञ्चारकर्मी तथा फिल्म समीक्षक यज्ञसले तयार पारेको कथा फिटकिरीलाई चपली हाईटका निर्माता अर्जुन कुमारले सुमित मैनालीसंगको साझेदारीमा निर्माण गर्दैछन् । यो फिल्ममा लुटका निर्देशक निश्चल बस्नेतको साथमा शान्ति गिरी, पूर्णेन्दु झा, धीरेन्द्र प्रेमर्शी र रमेश रञ्जन झाको पनि अभिनय रहने छ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्दैछन् ।

