अध्यक्ष नवल खड्काले आफ्ना निर्वाचन घोषणा पत्रमा समेटिएका १५ मध्येका अधिकांश बुँदालाई दश बुँदे माग पत्र बनाएर चलचित्र बिकास बोर्डमा पेश गरेका छन् । उनी सहित कलाकार संघका केही पदाधिकारीहरु आज बोर्ड पुगी अध्यक्ष धर्मेन्द्र मरवैतालाई सो माग पत्र बुझाएका हुन् ।
दश बुँदे माग पत्रमा तत्तकाल कलाकारहरुको विमा ब्यवस्था गर्नुपर्ने, राज्यबाट कलाकारहरुलाई सम्मान एवं पदकहरु प्रदान गर्न बोर्डले पहल गर्नुपर्ने, हरेक बर्ष बोर्डले कलाकारहरुलाई सम्मान गर्न अवार्ड कार्यक्रम आयोजना हुनुपर्ने, फिल्म सेन्सर सर्टिफिकेट दिने समयमा अनिवार्य रुपमा कलाकारहरुको नो अब्जेक्शन लेटर चाहिने ब्यवस्था गरिनुपर्ने, विदेशी विज्ञापनमा नेपाली कालकारहरुको अनिवार्य अभिनय हुनुपर्ने, सिंहदरबार जस्ता देशका प्रमुख स्थानमा प्रवेशका लागि विशेष परिचय पत्रको ब्यवस्था गरिनुपर्ने, कलाकारहरुलाई राज्यको पाँचौ अङ्गको रुपमा स्थान दिन सरकारसंग पहलकदमी गर्ने, २०५७ सालमा सरकारले दिएको दुई रोपनी जग्गाको सट्टा भर्ना गरी अर्कै स्थानमा जग्गा उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चलचित्र बिकास बोर्डबाट गठन हुने विभिन्न समिति उपसमितिहरुमा अनिवार्य रुपमा कलाकारहरुको प्रतिनिधित्व हुनुपर्ने सहित विदेशी कार्यक्रम एवं गोष्ठीहरुमा कलाकारहरुको अनिवार्य उपस्थितीको ब्यवस्थालाई बोर्डले सुनिश्चित गराउनु पर्ने मागहरु छन् ।
यस्तै कलाकार संघको उक्त टोलीले फिल्म सहित हल बर्गिकरणको बिषयमा पास हुन लागेको एक निर्णयमा आफ्नो सुझाव पनि दिएको छ । संघका अध्यक्ष नवल खड्काका अनुसार प्रविधि मात्र नभई प्राविधिकहरुको दक्षताको आधारमा मात्र बर्गिकरण जस्तो सम्बेदनशिल निर्णय गर्न सुझाव दिईएको छ ।

