वर्तमान नेपालको राजनिती प्रति व्यङ्ग्य गर्दै राष्ट्रियताको कथा बोकेको फिल्म रिदम लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । बुधबार साँझ सेन्सर बोर्डका सदस्यहरूले फिल्म हेरे पश्चात नेताहरूलाई व्यङ्ग्य गरेको कुनै पनि सिन तथा संवादमा आपत्ति नजनाई 'यू' सर्टिफिकेट दिएको निर्देशक विकास आचार्यले फिल्मीखबरलाई जानकारी गराए ।
'फिल्म हेर्दा सबैको मुहार हँसिलो देखिएको थियो,' निर्देशक आचार्यले भने- 'सबैले फिल्म हेरे पश्चात राम्रो बनेको प्रतिक्रिया दिनुभयो ।' नेपाली पनको फिल्म हेर्न पाएकोमा सेन्सर बोर्डका सदस्यहरू खुसी भएको आचार्यको भनाई छ । पारिवारिक प्रेमकथालाई समेत बोकेको रिदममा जीवन लुईटेल, विल्सन विक्रम राई, स्वेता भट्टराई, नीर शाह, सोहित मानन्धर, निश्मा घिमिरेको साथमा बालकलाकार अनुभव रेग्मीको मुख्य भुमिका रहेको छ ।
वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेको यो फिल्मको कथा निर्देशक आचार्यले नै लेखेका हुन् । फिल्ममा बसन्त सापकोटाको संगीत, डा. कृष्णहरी बरालको गीत, शम्भु सापकोटाको छायाँकन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन तथा कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । यो फिल्म यहि फाल्गुन २५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने छ ।

